काठमाडौं- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
प्रभागको टोलीले नागढुङ्गामा आज गरेको छुट्टाछुट्टै चेकजाँचका क्रममा लागुऔषधसहित ललितपुरका १८ वर्षीय साजन थापा र विनोद खड्गी तथा काठमाडौँका ३३ वर्षीय सुन्दर खड्कालाई पक्राउ गरेको हो।
प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २९७ नंको यात्रुबाहक बसमा थापा र खड्गी तथा हेटौँडाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ७४३५ नंको बसबाट खड्कालाई पक्राउ गरिएको जानकारी दिएका छन्।
प्रहरीले थापा र खड्गीसँग तीन ग्राम खैरो हिरोइन र ३७ ट्याब्लेट नाइट्राभेट तथा खड्कासँग १७ एम्पुल नुर्फिन, १७ एम्पुल फेनार्गन र १७ एम्पुल डाइजेल्याब बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।