रोल्पा– २०५२ फागुन १।
रोल्पाको होलेरी बजार नजिकै रहेको प्रहरी चौकी आक्रमण गरी तत्कालीन विद्रोही नेकपा (माओवादी) ले जनयुद्धको सुरुवात गर्यो। त्यही युद्धमा होमिएकी थिइन्, नारायणी शर्मा ‘प्रतीक्षा’।
२२ वर्षको युवा जोस। अनि देशको व्यवस्था परिवर्तन गर्ने ठूलो सपना। देशमा शान्ति ल्याउने अभिलाषा बोकेरै बन्दुक उठाइन् उनले।
त्यो दिन, प्रतीक्षालाई राम्रो सम्झना छ।
कमाण्डर गणेशमानको आदेशमा उनले चौकी आक्रमण गरेकी थिइन्। त्यही आक्रमणले बनायो, जनयुद्धको पहिलो डोब...।
त्यस दिन होलेरी प्रहरी चोकी रोल्पासँगै रुकुमको राडी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित नेपाल बैंकको शाखामा एकै दिन आक्रमण भएको थियो।
रोल्पाको होलेरीमा आक्रमण भएको प्रहरी चौकीको भग्नावशेष मात्र बचेको छ भने आक्रमणमा मारिएका प्रहरीको सम्झनामा बनाइएको स्तम्भ पनि सडक बिस्तारको क्रममा नासिएको छ।
यसरी विद्रोह क्रान्तिको रुप लिएको थियो।
के युद्धमा होमिएकाहरूको सपना पूरा भयो त ?
‘भएन,’ प्रतीक्षा भन्छिन्, 'सबै सपना पूरा त भएन। तर, युद्धले केही उपलब्धि भने हासिल गर्यो।'
राजसंस्थाको अन्त्य र संविधान निर्माण भने जनयुद्धकै उपज भएको प्रतीक्षाको बुझाइ छ।
गरिबी, उत्पीडन, जातीय र वर्गीय लडाइँ भनिए पनि महिला अधिकारका सवालमा भने ३३ प्रतिशतमै चित्त बुझाउनु पर्दा उनी दुःखी छिन्।
ओभाएको छैन आँसु
आजभन्दा दुई दशकअघि भएको होलेरी आक्रमणले युद्धको बिजारोपण गर्यो। रोल्पावासीलाई त्राहित्राहि बनायो। त्यतिबेला भएको उक्त आक्रमणलाई स्थानीय एवम् पूर्व शिक्षक दीर्घबहादुर खड्का नपत्याउँदो आक्रमण भन्छन्।
‘सुरुमा गोली चल्दा कसैले खरायो मार्न गोली चलाएको होला भन्ने लागेको थियो, पछि ‘माओवाद जिन्दावाद’को नारा लागेपछि चौकी आक्रमण भएको थाह पाएँ,’ उनले भने, ‘नयाँ पार्टी त्यो पनि बन्दुकसँग आएकाले केही गर्छ भन्ने लागेको थियो, तर त्यो पनि सत्तामा गएपछि थाहा भयो। उस्तै रैछ।’
रोल्पाका कतिपय जनता भने सशस्त्र युद्धले गाउँको विकास भएको बताउँछन्। तर, हजारौं व्यक्ति मारिएको प्रति भने उनीहरूको गुनासो छ।
दशक लामो द्वन्दमा करिब १७ हजार जनता मारिए।
त्यसैमध्ये रोल्पाकै सुनिता विकले आफ्नो पति गुमाइन्।
उनको पतिलाई सुराकी गरेको आरोपमा प्रहरीले मारेको थियो। ‘जनताको लागि भनेर गरिएको आन्दोलन नेताको लागि मात्र हुन पुग्यो। गरिब दुःखीको पनि दिन आउँछ भन्थे तर खै?’ आँसु चुहाउँदै प्रश्न गर्छिन् उनी।
जनयुद्धकै बलमा देशको शासन व्यवस्था परिवर्तन त भयो। तर, हजारौंको ज्यान जाने गरी लडेको त्यो युद्धले सार्थकता पायो या अझै पाएन?
तर, सुनिता जस्ता सयौं महिलाका आँखा भने अझै ओभाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।