जनकपुर– आफ्नै अपहरण भएको नाटक रचेर अभिभावकसँग पैसा ठग्न गर्ने खोज्ने ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१७ बेलौनीका २२ वर्षीय अजयकुमार साह र उनका साथीहरु समसाद नदाफ र रौतहट गढीमाईका अरबिन्द यादव रहेका छन्।
अजयले साथीसँग मिलेर अपहरणको नाटक गर्दै अभिभावकसँग १५ लाख ठग्ने कोसिस गर्दा प्रहरीको फन्दामा परेका हुन्। साथीको जन्मदिन पार्टीमा गएका अजय अपहरण भएको र मुक्त गर्नका लागि १५ लाखको व्यवस्था गर्नू भनेर अजयका अभिभावकलाई अरविन्दले फोन गरेपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए। पाँच लाख फिरौती दिनेमा सहमति भएपछि काठमाडौंमा लुकेर बसेका तीनैजना बर्दिबासमा पैसा लिन आएपछि प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीको जाँचबुझका क्रममा घटनाको मुख्य योजनाकार उनकै छोरा रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए।
मुख्य योजनाकार साहले मोटरसाइकल किनेर भारतको गोवा घुम्न जाने योजनाका साथ अपहरणको नाटक रचेको छानबिनमा खुल्न आएको धनुषा प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि सार्वजनिक हितसम्बन्धी मुद्दा लगाएर छानबिन प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।