काठमाडौं– ट्र्याक्टरमा आलो लगाएर फोन गर्दै धम्की दिने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ वर्षीय सिद्धार्थ चौधरी छन्।
माघ २३ गते राति जितपुर सिमरा उपमहानगरपालिका–१७ जैतापुर बस्ने वीरेन्द्र प्रसाद साहको राइस मिलअगाडि पार्किङ गरेर राखेको ना १ त ५०७९ नम्बरको ट्र्याक्टरमा अपरिचित व्यक्तिले आगो लगाएका थिए।
उक्त ट्र्याक्टर कलैया उपमहानगरपालिका– २२ मटिअरियाका कृष्ण भगवान सिंहको नाममा दर्ता थियो। आगो लगाएको भोलिपल्ट अपरिचित व्यक्तिले वीरेन्द्रलाई फोन गर्दै आगो आफूले लगाएको र २४ घण्टाभित्र ३० लाख रुपैयाँ दिनु भन्दै धम्कीपूर्ण फोन गरेका थिए।
३० लाख रुपैयाँ नदिए बाबु छोराको ज्यान नै उडाइदिने भन्दै फोनमा धम्की दिइएको थियो। उक्त सूचना प्राप्त हुनासाथ बारा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
धम्कीपूर्ण फोन गरेको नम्बरको आधारमा अनुसन्धान गर्द उक्त फोन सिद्धार्थ चौधरीले गरेको पत्ता लगाएपछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।