काठमाडौँ- महानगरीय प्रहरी बूढानीलकण्ठले सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–६ स्थित रेखा तिवारीको घरबाट गरगहना चोरी गर्ने बाराका रुपेश यादवलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले तिवारीको घरमा रङरोहन गर्न आएको बेला चोरी गरेको अनुसन्धानमा खुलेको बताए।
तिवारीसँग प्रहरीले एक तोला सुनको औँठी, सिक्री र नगद पाँच हजार बरामद गरेको छ। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच,महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रभागको टोलीले नयाँ बसपार्कस्थित वीरेन्द्र ऐश्वर्य मार्गस्थित न्यू कन्याम त्रिवेणी गेष्ट हाउसको पार्किङ स्थलबाट लागुऔषधसहित सर्लाहीका मानबहादुर बम्जन र रामलाल साहलाई सोमबार साँझ पक्राउ गरेको हो।
पक्राउ परेकासँग प्रहरीले फेनार्गन, नुर्फिन र डाइजेल्याव २९० एम्पुल तथा नाइट्राभेट ट्याब्लेट एक हजार ४७० ट्याब्लेट बरामद गरेको छ। लागुऔषधका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।