चिप्लेढुङ्गा- हत्या आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन्।
पोखराको लेकसाइडमा सोमबार मध्यरात १४ वर्षीय सचिन सिञ्जालीको हत्या भएको थियो। सोही हत्या आरोपमा बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजा पक्राउ परेका हुन्। उनले हत्या स्विकारेका छन्।
उनी सचिनकै साथी हुन्। पाल्पा घर भई सचिन लेकसाइडमा बस्दै आएका थिए।
आरोपितलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो।
हल्लनचोकस्थित निर्माणाधीन एक भवनमा सिञ्जालीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीसहितको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान सुरु गरेलगत्तै हत्या आरोपित पक्राउ पर्न सफल भएको हो।
सचिनको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ। उनका बुबाआमाबीच सम्बन्ध राम्रो नभएकाले अलगअलग बस्दै आएका छन्। आमा लेकसाइडमा स्पा सञ्चालन गर्छिन् भने बुबाले फ्रेस हाउस सञ्चालन गर्दैआएका छन्।
सचिन हजुरआमा र आमासँगै बस्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।