काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान दुई बजे क्षेत्रपाटीबाट बरामद गरेको सुनका चिनियाँ मालिकको परिचय खुलेको छ। सोमबार विहान याङ वेन विङ र उनका पति पान विई मिङले भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले बरामद गरेको हो।
उच्च प्रहरी स्रोतका अनुसार सुन मालिक चिनियाँ दम्पत्तीको विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहसँग निकट सम्बन्ध छ। प्रहरीले चिनियाँ दम्पत्तीको नेपाली साझेदारबारे अनुसन्धान तीव्र बनाएको छ।
काठमाडौंको ठमेलमा ‘काठमाडौं वन’ होटल सञ्चालन गरेका चिनियाँ दम्पत्ती चीनबाट नेपाल सुन ल्याउने र भण्डार गर्नेसम्मको जिम्मेबारी पाएका कारोबारी हुन्। सुनको अवैध कारोबारका लागि २०७० मा चिनियाँ दम्पत्तीले आफ्नै नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा होटल दर्ता गराएका थिए। होटलको जिम्मेवारी नेपाली नागरिक मोहन श्रेष्ठलाई दिइएको छ।
महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले सुनका कारोबारी चिनियाँ नागरिक भएको बताए पनि उनीहरुको परिचय खुलाउन चाहेनन्। सोमबार पत्रकार सम्मेलनमा एसएसपी लोहनीले भने, ‘सुनका मालिक चिनियाँ भएको भन्ने छ, संगठित अपराध ऐन अन्तर्गत थप अनुसन्धान हुनेछ।’
चीनको तिब्बत नाका भएर नेपाल भित्रने सुन यी दम्पत्तीको होटलमा जम्मा हुने र मौका अनुसार साना गाडीमा फल्स बटम बनाएर भारत पुर्याउने गरिएको थियो। प्रहरीकै उच्च तहको मिलमतोमा लामो समयदेखि अवैध सुनको तस्करी हुँदै आएको थियो। यसपटक सेटिङ नमिलेपछि तस्करको समूहबाटै सूचना चुहिएपछि प्रहरीले सुन बरामद गर्न सकेको हो।
महानगरीय प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखालाई एकै व्यक्तिले सुनका विषयमा सूचना दिए पनि अन्तमा महाशाखाले बरामद गरेको हो।
महाशाखाले क्षेत्रपाटीबाट बा१७च ६४२७ नम्बरको गाडीसहित चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ। गाडीको विभिन्न पार्टपुर्जामा कालो टेपले बेरेर लुकाइएका एक केजी लेखिएको ८८ थान सुनका बिस्कुट बरामद भएको हो। महाशाखाका अनुसार बरामद सुनको बजार मुल्य ४३ करोड रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।