दमौली- बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन्।
गत बैसाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो। कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलाशले थुनामा पठाउने आदेश दिएको हो।
कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको भन्दै एक युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। अदालतको आदेशअनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए।
नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।