सुन चोरीको आरोपमा २ जना जेल चलान, किन्ने धराैटीमा छुटे

नेपाल लाइभ

Nepal Live

जनकपुर- सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज २ जनालाई जेल चलान गरेको छ। जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

त्यसैगरी सोही मुद्दामा जलेश्वर नगरपालिका–१ बस्ने २२ वर्षीय सन्तोषकुमार साहलाई १ लाख रुपैयाँ धरौटीमा छोडेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

श्रेष्ठ र अलीले जलेश्वर–२ बस्ने रसिना खातुन आफ्नो घरमा ताल्चा लगाई आफन्तको बिहेमा गएको मौका छोपी माघ १० गते राति सो घरको ताल्चा फुटाई सुन र चाँदीका गरगहना तथा नगद गरी २ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको चोरी गरेका थिए।

सुनको औँठी तीन थान, मङ्गल सूत्र एक थान र सुनको बाला तीन थान जलेश्वर–१ अवस्थित सन्तोषकुमार साहको विष्णु ज्वेलर्समा बिक्री गरेको पाइएपछि प्रहरीले चोरीका गरगहना किनेका सन्तोषकुमार साहलाई पनि चोरीकै आरोपमा पक्राउ गरेको थियो।

चोरी गरेको तथा चोरीका गरगहना किनेको कार्यमा संलग्न रहेका तीनमध्ये अदालतले श्रेष्ठ र अलीलाई पुर्पक्षको लागि जलेश्वर कारागारमा पठाएको छ भने साहलाई धरौटीमा रिहा गरेको छ।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने