काठमाडौं- कपासझैं नरम केश। सुकिलो अनुहार। सेतै पावरदार चस्मा।
उमेरले ९२ टेके पनि इतिहासका पाना कण्ठस्थै छन्, कमल राणालाई। जो आफै पनि एक जीवित इतिहास हुन्– पहिलो संसद् अर्थात् २०१५ सालको माथिल्लो सभाकी। महासभा भनिने उक्त सभाकी उपाध्यक्ष उनी नेपाली संसदीय इतिहासकै पहिलो महिला उपाध्यक्ष हुन्।
महासभाको उपाध्यक्ष पद पाउन राणालाई सहज भने थिएन। उनीविरुद्ध नेपाली कांग्रेसले अर्को उम्मेदवार खडा गरेको थियो।
अध्यक्षमा डम्बरबहादुर सिंह कांग्रेसबाट निर्वाचित भएपछि उपाध्यक्षमा महिलालाई नै निर्विरोध गरौं भन्ने प्रधानमन्त्री बिपी कोइरालाले प्रस्ताव गरेका थिए। तर, अन्य सांसदहरुले उनको प्रस्ताव अस्विकार गरिदिएपछि राणा निर्वाचनमै होमिनुपर्यो।
त्यतिबेला बिपीका निकट सहपाठी विश्वबन्धु थापाले राणाको घरमै पुगेर कांग्रेसको सदस्यता लिन सुझाव दिएका थिए। कांग्रेसको सदस्यता लिए उपाध्यक्षमा निर्विरोध गराउने उनले आश्वासन पनि दिए। तर, 'सदस्यता लिन्न, निर्वाचन नै लड्छु' भनेर राणा उपाध्यक्ष पदका लागि निर्वाचनको मैदानमा पुगिन्।
अन्ततः विजय उनको पक्षमा आयो।
तर, पत्रिका पढेपछि मात्रै विश्वमै महासभाको पहिलो उपाध्यक्ष भएको थाहा पाएको उनी सम्झिन्छिन्।
राणाको स्मरणमा त्यो उल्लासमय विगत झल्को अझै ताजा छ। उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवारलाई पराजित गरेलगत्तै बिपी उनीतिर लमकलमक लम्किँदै आए। र, बधाई दिँदै भने, 'कांग्रेसको उम्मेदवार पराजित भए पनि मलाई निकै खुसी लागेको छ।'
‘उपाध्यक्ष महिला हुनुहुन्छ, उहाँलाई निर्विरोध गराउनु भन्दा साथीहरुले मानेनन्,’ जितपछि राणालाई बधाई दिँदै बिपीले भनेका थिए, ‘उनीहरुले मानेनन्। तर, संसद्ले नतिजा देखाइदियो।’
पहिलो संसद्को प्रतिनिधिसभामा १ सय ९ सांसद थिए। तिनमा महिला भने द्वारिकादेवी ठकुरानी मात्रै थिइन्। यता, महासभाका ३६ मध्ये १८ राजनीतिक पार्टीबाट र १८ जना राजा महेन्द्रबाट मनोनीत थिए। तिनै मनोनीतमध्ये एक थिइन्, राणा।
'बिपी निकै खुल्ला हृदयको हुनुहुन्थ्यो,' उनी भन्छिन्, 'साँघुरो मानसिकता भन्ने उहाँमा थिएन।'
सांसद बन्दा उमेर विवाद
महासभामा मनोनीत हुदाँको रोचक अनुभव छ राणासँग।
त्यतिबेला महासभामा सांसद हुन ३० वर्ष उमेर पुगेको हुनुपर्थ्यो। तर, एसएलसीको फाराम भर्दा गुरुले उनको उमेर २५ वर्ष लेखिदिएका रहेछन्। त्यही जन्ममिति पत्ता लगाएर कांग्रेसले बखेडा झिक्यो। कांग्रेसका केही सांसदले उनको उमेर ३० वर्ष नपुगेको भन्दै विरोध जनाउन थाले।
'तर बिपीले यस्ता विषयलाई ठूलो बनाउन हुँदैन भन्दै अरुलाई सम्झाउनुभयो,' राणा बताउँछिन्।
विवाद झन् बल्झिने भएपछि राणाका बुबा पाल्पा गएर असली जन्ममितिको कागजात ल्याएर महासभामा पेस गरेपछि मात्रै उमेर विवाद साम्य भएको थियो।
पहिलो संसद्को हाइहाई
पहिलो संसद् भएकाले धेरैलाई यसबारे चासो र जिज्ञासा थियो। संसद् चलेको दिन हेर्न आउनेहरुको बाक्लो उपस्थितिले सिंहदरबारको ग्यालरी बैठक भरिभराउ हुने गरेको राणा सुनाउँछिन्।
भवन अभावका कारण सिंहदरबार ग्यालरी बैठकमा बिहान-दिउँसो गरी प्रतिनिधिसभा र महासभाका बैठक सञ्चालन हुन्थे।
संसद सिकारु अवस्थामै थियो। पुस्तक र अन्य सामग्रीको अध्ययनबाटै संसदीय अभ्यास सञ्चालन गर्नुपरेको राणाको अनुभव छ। 'संसदलाई मात्र होइन नेपाली जनतालाई पनि ठूलो चाहना थियो, अब के होला भन्ने?' उनी सुनाउँछिन्, 'थोरै दिन चले पनि त्यसबेलाको संसद्को निकै हाइहाई थियो।'
गेरुवस्त्रधारी कांग्रेस
त्यतिबेला गेरुवस्त्र धारण गर्ने एक जना नेपाली कांग्रेस सांसद थिए, महासभामा। ती व्यक्ति बालाजुमा बस्ने गरेको राणालाई राम्रैसँग थाहा थियो। सांसद हुनुअघि नै ती व्यक्तिबारे राणा संलग्न भएको महिला संगठनमा कारबाही गर्नु भन्दै विभिन्न उजुरी आउँथे। तिनै व्यक्ति महासभा सदस्य भएर आउँदा राणा चकित परिन्।
‘एक दिन मैले नै अध्यक्षको अनुपस्थितिमा महासभा सञ्चालन गर्दै थिएँ, उनी उभिएर खुट्टा ढ्याकढ्याक गरेर उभिइरहे। उताको रिस उनले यता पोख्न थाले,' राणा उत्साहित हुँदै स्मरण गर्छिन्, 'मैले तीन पटकसम्म ‘माननीय सदस्यज्यू बस्नुस्’ भनेँ। नमानेपछि अब पनि बस्नुभएन भने बाध्यतापूर्वक मार्सल प्रयोग गर्नुपर्नेछ भनेपछि त पुलिसले समात्न लाग्यो भन्ने सोचेर होला ड्यामड्याम खुट्टा बजार्दै उनी निस्किएर गए।'
संसद बैठकको नेतृत्व
त्यतिबेला राणाको घर बानेश्वरमा थियो। नजिकै आर्मी ब्यारेक। फोन थिएन उनीसँग। कतैबाट फोन आउँदा ब्यारेकमै आउँथ्यो।
महासभाको अध्यक्ष डम्बरबहादुर सिंह थिए। तर, धेरैजसो समय उनैलाई संसद् चलाउन प्रस्ताव आउन थाल्यो। ‘लौ न उपाध्यक्षज्यूलाई संसद् चलाउन पठाइदिनुपर्यो। अध्यक्षज्यूलाई दिसा लाग्यो रे’ भनेर फोन आउने गरेको उनी बताउँछिन्।
'संसदमा अलिकति खलबल पर्यो कि अध्यक्ष बिरामी भइहाल्ने,' उनी हाँस्दै भन्छिन्।
उसो त अध्यक्ष सिंहले कानुनका विज्ञ नै थिए। एकदमै लचिलो र कसैलाई हुन्न भन्न नसक्ने स्वभावको व्यक्ति भएको राणाको सम्झना छ।
छोरालाई हुर्काएर पढाइ
१५ वर्षकै उमेरमा उनले मीन शमशेर राणासँग विवाह गरिन्। विवाहपछि पढाइको क्रम रोकियो। छोरा अनुप हुर्किएर स्कुल जान थालेपछि मात्रै उनी पुनः शंकरदेव क्याम्पस भर्ना भइन्।
महासभाको उपाध्यक्ष हुँदा उनी शंकरदेव क्याम्पसमै स्नातक तहमा रात्रिकालीन कक्षा लिन्थिन्। महासभामै हुँदा स्नातक तह पनि पास गरिन्। स्नातकोत्तर भने राणाले राजा महेन्द्रले संसद् भंग गरेपछि मात्र पूरा गर्न पाइन्।
पहिलो संसदका पदाधिकारीलाई सरकारी गाडी दिएको सम्झना छैन उनलाई। त्यसैले आफ्नै गाडी लिएर क्याम्पस जान्थिन्। तर सरकारले झन्डा र गार्ड भने दिएको थियो।
'राजा महेन्द्रलाई दशा लागेपछि…'
पहिलो जननिर्वाचित सरकार अपदस्थ गरेर राजा महेन्द्रले २०१७ पुस १ गते शासनसत्ता आफ्नो हातमा लिए। जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतलाई जेल हालियो। राजनीतिक दलमाथि प्रतिबन्ध लगाइयो।
राणा भने 'दशा लागेपछि' महेन्द्रले पहिलो संसद् भंग गरेको बताउँछिन्। 'सबै काम एक्लै गर्न सक्छु भनेर महेन्द्रले त्यस्तो कदम चाले,' उनको दाबी छ, 'राजसंस्थालाई मान्ने र बुद्धि पनि भएको बिपीजत्तिको प्रधानमन्त्री नेपालले पाउन सकेन। त्यतिका मान्छे जन्मिन धेरै समय लाग्छ।'
बिपीपछि वर्तमान समयसम्म आइपुग्दा देशले बेहोरेका प्रधानमन्त्रीप्रति राणाको असन्तुष्टि छ। राजा महेन्द्रले आफूलाई महासभामा मनोनीत गरे पनि बिपीप्रतिको आस्था भने उनीभित्र गढेर रहेको छ।
भिडियो-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।