काठमाडौं- पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि सुरु भएको वर्षा र हिमपात आज पनि जारी छ। उच्च हिमाली र पहाडी जिल्लामा हिमपात भए पनि आज बिहान भने काठमाडौं उपत्यका वरिपरिका डाँडा पनि सेताम्मे देखिएका छन्।
चन्द्रागिरी, फूलचोकी लगायतका डाँडामा हिउँ परेको हो। बागमती नदीमा देखिएका ती डाँडाको प्रतिविम्बमा हिउँ पनि अटेको छ।

पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव पूर्वतर्फ बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। उनका अनुसार आइतबार भने तुलनात्मक रुपमा मौसममा केही सुधार आउनेछ।
मौसमी यो प्रभावले काठमाडौंसहित देशभर चिसो निकै महसुस गरिएको छ।


यसैबीच, ‘स्वच्छता मेरो पहिचान : सफाइमा मेरो योगदान’ भन्ने मूल नाराका साथ बागमती सरसफाइ महाअभियानको ३००औं हप्ता आज मनाइएको छ।
बिहान बागमती मनोहरा दोभानको शङ्खमूल क्षेत्रमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, वनमन्त्री शक्तिबहादुर बस्नेत, खानेपानीमन्त्री बिना मगर, प्रहरी अधिकारीहरु, विभिन्न मन्त्रालयका सचिवहरु तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागित थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले आजदेखि ७ सय ५३ स्थानीय तहमै विशेष सफाइ अभियान सुरु भएको बताए।

२०७० जेठ ५ गतेदेखि संस्थागत रूपमा बाग्मती सरसफाइ अभियान सुरु भएको थियो। १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म पुग्यो। २००औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न १० बुँदे घोषणापत्र जारी भएको थियो।
बागमती सफाइ अभियान जनताको सहभागिता र समयको हिसाबले लामो अधियान र बृहत् सहभागिता हो। यस अवधिमा करिब १८ हजार मेट्रिक टन फोहर उठाइसकिएको छ। यस कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करिब १० लाख स्वयंसेवी परिचालन भएका थिए।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।