काठमाडौं- गीत चल्नासाथ गायककै पहिलो चर्चा हुन्छ। तर पर्दापछाडिका नायकहरु अक्सर ओझेलमा पर्ने गर्छन्। विशेषगरी वाद्यवादकलाई कसैले वास्ता गर्दैन।
जीवन राई यस्तै वाद्यवादक हुन्, जो वर्षौंदेखि तबलामा औंला नचाइरहेका छन्।
स्टुडियो र लाइभ गरी असंख्य गीतमा आफ्नो कुशल तबलावादन गरेर नेपाली संगीत क्षेत्रमा उनले सुन्दर इतिहास रचिसकेका छन्।
तर, संगीतका यी साधक यतिबेला थलिएका छन्।
गत दसैंअघि अचानक सिकिस्त बिरामी भए उनी। करिब २२ लाख खर्चमा मुटुमा सिआरटी पेसमेकर राख्नुपर्यो। त्यत्रो खर्च गर्नु उनी एक्लैका लागि धेरै गाह्रो कुरा थियो। तर करिब १५ लाखजति नेपाली संगीत जगतका कलाकार, उनका विद्यार्थी र शुभचिन्तकले जुटाइदिए। 'बाँकी पैसा जसोतसो जुटाइयो तर फलोअपको लागि अझै खर्च भइराखेको छ,' उनले भने।
नेपाललाई कर्मथलो बनाएका जीवन दसैंतिहारमा जन्मथलो दार्जिलिङ फर्किए। फेरि उनी यतै फर्किएका छन् नेपाली संगीतलाई अझै मिठो धुन दिन। 'आफ्नो स्वास्थ्यले साथ दिउञ्जेल नै नेपाली गीतसंगीतमै काम गरिरहने इच्छा छ,' उनले भावुक हुँदै भने।
गुरु-चेला सम्बन्ध
अहिलेका व्यस्त वाद्यवादक भुवन गन्धर्व, सन्तोष बर्मा, जगन्नाथ धगौडा लगायतले उनीबाट तबलाको ज्ञान लिएका हुन्। अहिले पनि जीवन हात तबला सिकाउनमै निरन्तर लागिरहेका छन्। 'तर कतिपय विद्यार्थीलाई गुरुको नाम लिन र गुरुप्रति सम्मान व्यक्त गर्न मन नगर्ने अनि आफ्नो धरातल बिर्सिने बानीले पनि छुन थालेको छ,' उनी अलि निराश भए, 'कतिपय विद्यार्थीमा अलिअलि सिकेर नै पैसाको पछि लागिहाल्ने प्रवृत्ति बढेको छ।'
जीवनका बुवा नरध्वज राई राम्रा मादलवादक थिए। उनी गाउने पनि। दाजुहरु समेत संगीतमा लागेकाले जीवनलाई गाह्रो भएन। जेठा दाजु मनबहादुर बाँसुरी, मेन्डोलिन भायोलिन बजाउन पोख्त थिए। पछि अल इन्डिया रेडियोमा समेत उनले काम गरे। साहिँला दाजु सन्तकुमार पनि तबला बजाउँथे। 'घरको वातावरण नै संगीतमय भएकोले ममा पनि सानैदेखि संगीतको नशा चढेको हो,' जीवन भन्छन्, 'दाजुहरुको आफ्नो सांगीतिक जीवनमा ठूलो योगदान छ।'
दार्जिलिङका प्रख्यात तबलावादक प्रतापसिंह लोहारलाई गुरु थापेर जीवनले धेरै वर्षसम्म मेहनत गरेर तबला सिके। पछि रवीन्द्र भारती संगीत विश्वविद्यालयबाट तबलामै गोल्डमेडल थापे। सन् २००५ मा उनले संगीत रत्नको उपाधि पाउँदै मास्टर्स सिध्याए।
दार्जिलिङदेखि नेपाल
जीवन दार्जिलिङमै संगीत साधना गरिरहेका थिए। यसैबेला काठमाडौंबाट अफर आयो, तबलावादकको।
उनलाई अफर गर्ने थिए गोपाल योञ्जन।
'सधै सिर्जनशील बन्न सिकाउने गोपाल सरको अद्भुत कला थियो र मेरो सांगीतिक करिअरमा गोपाल योञ्जनको ठूलो योगदान छ,' जीवनले सम्झिए।
२०५० सालतिर नेपाल आएपछि जीवनले कहिले पछाडि फर्केर हेर्नुपरेन। उनी निरन्तर तबलावादनमा प्रख्याति कमाउँदै गए। एकल सोलो प्रस्तुति र लाइभ कार्यक्रममा तबलाको जादू देखाइरहे। तबला मात्र नभएर मादल, ढोलक लगायत पर्क्युसन (छालाबाट बनेका वाद्ययन्त्र) का सबै बाजा उत्तिकै मिठो बजाउँछन् उनी।
गोपाल योञ्जन, अम्बर गुरुङ, शान्ति ठटाल, अरुणा लामा, फत्तेमान, प्रेमध्वज प्रधान, मीरा राणा, गणेश रसिक, बद्री दुर्गा खरेल, दीप श्रेष्ठ, दीपक जंगम, आभास, बलराम समाल, जगदीश समाल, देवनारायण प्रधान आदिसँग उनले सहकार्य गरिसकेका छन्। नयाँ पुस्ताका मीना निरौला, झुमा लिम्बु, राज सिग्देल, मेलिना राई, प्रकाश लेप्चा लगायतका गीतहरुमा समेत उनले तबलाको धुन भरिसकेका छन्।
दार्जिलिङबाट नेपाल छिरेका धेरै हस्तीहरुले संगीतको आकाशलाई फराकिलो बनाएका छन्, तिनैमध्येका एक हुन् जीवन पनि।
नेपालबाटै नेपाल म्युजिक सेन्टरको 'टिचर एक्सचेन्ज कार्यक्रम' अन्तर्गत उनी नर्वेसमेत पुगे। करिब १० महिना त्यहाँ बसेर आफ्नो कला विदेशी विद्यार्थीलाई सिकाए। त्यहाँको आङ बेग्लिन भन्ने सांगीतिक समूहसँग १२ वटा कार्यक्रम गरेको उनी सुनाउँछन्।
केही समय गजल रेस्टुरेन्टमा वाद्यवादकको काम नै जीवन सिंगापुर पनि पुगे। वरिष्ठ गायक गणेश रसिकसँग दोस्रोपल्ट समेत सिंगापुर पुगेका थिए।
गायक दीप श्रेष्ठ पनि जीवनको वाद्यवादनको प्रशंसा गर्छन्। 'एउटा कलाकारमा हुनुपर्ने सबै गुण भएको मृदुभाषी, मेहनती र अत्यन्त सफा हात भएका तबलावादक हुन् उनी,' श्रेष्ठले भने, 'उनको बजाइमा पूर्णता पाउँछु।
उनलाई नजिकबाट चिन्ने अर्का तबलावादक कुमार महाराज पनि जीवनलाई 'पर्फेक्ट तबलिस्ट'को संज्ञा दिन्छन्।
तबला बजाएरै बाँच्न सकिन्छ त?
'तबला बजाएरै जीवन चलाइरहेको छु,' जीवनको जवाफ छ, 'आर्थिक हिसाबले ठुलो लाभ नभए पनि आत्मसन्तुष्टि र आफूले कलाकारको रुपमा पाएको सम्मानलाई पैसासँग तुलना गर्न मिल्दैनl'
स्टुडियो र लाइभमा व्यस्त हुने कलाकारको आम्दानी राम्रै छ नेपाली संगीत बजारमा। तर सिन्डिकेट, गुटवाद र खुट्टा तान्ने प्रवृत्ति कताकति रहेको पाउँछन् उनी। 'काम लगाएर भनेजति पैसा नदिने वा पैसा दिन आनाकानी गर्ने प्रवृत्तिले कलाकारलाई निरुत्साहित पार्छ,' उनको दुखेसो छ।

रेडियो नेपालले विशिष्ठ श्रेणीको शास्त्रीय तबलावादकको दर्जाले सम्मान गरेको छ जीवनलाई।
संगीतले विवाह बिर्सायो
सांगीतिक क्षेत्रमा यति व्यस्त भए कि जीवनले बिहे गर्न पनि बिर्सिए! चालीसको दशकमा हिँडिरहेका उनी हाँस्दै भन्छन्, 'संगीत नै मेरो जीवनको साथी भयो। तबलामा यति डुबेछु कि बिहे गर्नेबारेमा सोच्ने समेत फुर्सद भएन।'
चर्चा र प्रशंसाबाट टाढै बस्न रुचाउने जीवन नेपाली संगीतका एक अथक साधक हुन्l अचेलका संगीत सिक्ने नयाँ पुस्तामा आफ्नो पालाको जस्तो धैर्य, मेहनत र लगनशीलतामा कमी आउँदै गएकोमा उनी चिन्ता व्यक्त गर्छन्l आफू बिरामी भएर थला परेको बेला उनले मनमनै संकल्प गरेका रहेछन्- 'मैले जीवनमा जेजति सिकेँ, केही पनि बाँकी नराखी नयाँ भाइबैनीलाई बाँड्छु।'
अहिले पनि उनको निवासमा तबला सिक्न आउनेको कमी हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।