दाङ– दाङमा प्रहरीले ठूलो मात्रामा हतियार बरामद गरेको छ। राजपुर गाउँपालिका–७ भौवानाकामा विभिन्न प्रकारका हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार बनाउने व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरी भौवानाकाका ५९ वर्षीय जितबहादुर बुढालाई विभिन्न प्रकारका हतियारसहित सार्वजनिक गरेको हो।
हतियार बनाउने कारखानाबाट बरामद भएका भरुवा बन्दुक ५ थान, एयरगन राइफल ३ थान, १२ बोरको राइफल १ थान, कटुवा पेस्तोल १ थान, ठूलो हतियारको नाल २९ थान र सानो हतियारको नाल १२ थानसहित हतियार बनाउने विभिन्न सामग्री बरामद गरेको प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेले जानकारी दिए।
पक्राउ परेका बुढालाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धामा अदालतबाट म्याद थप गरेर अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

साथै सोही ठाउँका ३८ वर्षीय रुद्रमणी घर्तीलाई पनि एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
हतियार बनाउने बुढाकै कारखानाबाट ३ वर्ष पहिले १० हजारमा किनेको बन्दुकसहित घर्तीलाई पक्राउ गरिएको प्रहरी प्रमुख पाण्डेले बताए।
बुढाले प्रहरीमा दिएको बयानका अनुसार उनले बनाएको अधिकांश हतियार भारतमा बिक्री हुने गरेको छ। केही हतियार नेपालमा बिक्री हुने भए पनि धेरै हतियार भारत जाने गरेको छ।
खुला सीमा नाका भएका कारण भारतीय बजारबाट खरिदकर्ता सिधै आउने गरेको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।