राजविराज– सशस्त्र प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका ३ जना गाँजा तस्करलाई आइतबार सार्वजनिक गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरी भारतको सुपौल घर भएका ६५ वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर रायलाई सार्वजनिक गरेको हो। उनीहरुलाई माघ १८ गते राति हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोवरगाढाबाट पक्राउ गरिएको हो।
सप्तरीको विकट क्षेत्र मानिने सप्तकोशी नदीको टापुमा अवस्थित गोवरगाढाबाट गैरकानुनी रुपमा गाँजा निकासी हुँदै गरेको जानकारीका आधारमा पुगेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ६ नम्बर गणको टोलीलाई देखेपछि उनीहरुले गोली चलाएका थिए। तस्करले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेर गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिएको थियो।
उनीहरुको साथबाट ४२ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए। गाँजा तस्करीमा संलग्न अन्य २ जना हतियारसहित फरार भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका एसपी खेमवहादुर थापाले बताए।
पक्राउ परेका तिनै जनालाई मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।