काठमाडौं– 'क्लोरोफर्म' भन्ने विषालु ग्यास सुँघाएर रकम लुटापाट भएको नाटक गर्दै प्रहरीलाई खबर गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोंगबुमा रहेको रियल टाइगर टुर्स एन्ड ट्राभल्सका कर्मचारी तिलकराम अधिकारी छन्।
स्याङ्जाको गल्याङ–१९ घर भई गोंगबुस्थित रियल टाइगर टुर्स एन्ड ट्राभल्समा कार्यरत २३ वर्षीय अधिकारीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार पक्राउ गरेको हो।
उक्त ट्राभल्सबाट डेजिना बस्नेतले ८ लाख १५ हजार रुपैयाँ बैंकमा जम्मा गर्न भन्दै अधिकारीलाई बुधबार दिएकी थिइन्। उक्त रकम पाएपछि अधिकारीले अमृत डुम्रे भनिने व्यक्तिसँग मिली रकम लुटपाटको नाटक गरेर आफूले राख्ने योजना बनाएका थिए। सोही अनुसार डुम्रेले एक औषधि पसलबाट 'क्लोरोफर्म' भन्ने विषालु ग्यास ल्याएको र सहमति अनुसार नै अधिकारीलाई सुुघाएका थिए।
ग्यास सुघाएपछि बेहोस भएका अधिकारीलाई अस्पताल भर्ना गरिएको थियो। रकम भने अमृतले आफ्नो कोठामा लगेर राखेका थिए। पछि अधिकारीले भने ३/४ व्यक्तिको समूहमा आएका व्यक्तिले बन्दुक तेर्साउँदै धम्की दिएर विषालु ग्यास सुँघाएर रकम लुटपाट भएको बताएका थिए।
महाशाखाले अनुसन्धान गर्दा उनीहरुले मिलेमतोमै रकम आफूले लिन यस्तो नाटक गरेको खुलेको पाइएको छ। अमृत भने फरार छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।