काठमाडाैं- नेपाली कांग्रेसका नेता महेश आचार्यले अनसनरत डा गाेविन्द केसीकाे पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत खुला पत्र लेखेका छन्। पत्रमा नेता आचार्यले डा केसी प्रधानमन्त्रीकाे शत्रु नभएकाे उल्लेख गरेका छन्।
'डा केसी तपाईंका वैरी होइनन्। तपाईंले नेतृत्व गरेको राज्य संरचनाका एक निशस्त्र र सामान्य जनता हुन्- सचेत, सत्यनिष्ठ तर निर्भिक जनता', पत्रमा भनिएकाे छ।
उनले डा केसीका माग र आग्रहलाई सुनिदिँदा प्रधामन्त्रीकाे ओज र गरिमा धूमिल नहुने तर्क गरेका छन्। पत्रमा उनले लेखका छन्, 'डा केसीजस्ता निस्वार्थ जनताको सत्यकाे आग्रह र प्रार्थना स्वीकृत गर्दा प्रधानमन्त्रीको ओज र मर्यादा धूमिल हुँदैन, बरू सत्यको आग्रह गर्ने जनता अपहेलित हुँदा प्रधानमन्त्रीको मर्यादासमेत धूमिल हुन्छ।'
उनले डा केसीकाे १६औं अनसनलाई लिएर देश अहिले नैतिक संकट र दुर्घटनातर्फ उन्मुख भएकाे औंल्याएका छन्। नेता आचार्यले वर्तमान संकट समाधान गर्न प्रधानमन्त्रीलाई दुई वटा विकल्पहरु समेत दिएका छन्। 'प्रधानमन्त्रीज्यूलाई अहिले पनि निर्णायक संसदीय अग्रसरता लिने बाटो बन्द भएको छैन', उनले भनेका छन्, 'पहिलाे विकल्प-प्रधानमन्त्रीले चाहेमा राष्ट्रियसभामा यो विधेयक परिमार्जन हुन सक्छ। दोश्रो विकल्प-प्रमज्यूले चाहेमा यो विधेयकलाई संसद नियमावली र परम्पराअनुसार जनताको प्रतिक्रिया र सुझाव लिन पठाउन सकिन्छ।'
यस्ताे नेता आचार्यले लेखेकाे खुला पत्र:
सम्माननीय प्रधानमन्त्रीज्यू,
डा केसीको सत्याग्रहको आज २२औं दिन पूर्ण हुन लाग्यो। मेरो सुत्ने बेला हुदैंछ तर आँखामा निद्रा छैन। जन कल्याणका लागि एउटा सत्याग्रही मृत्युवरण गर्न तत्पर देख्छु, तर राज्य सत्ताको दृष्टि र मन अझै अन्धो र मौन छ।
प्रधानमन्त्रीज्यू, डा केसी जनता हुन्-एउटा बुढो र जर्जर शरीर बाेकेर उनी आफ्ना निमित्त सुख याचना गर्दै छैनन्, जन कल्याणका लागी दधिची ऋषिझैं जीवन आहुति गर्दैछन्। तपाईसँग करुणायुक्त तर अहंकारमुक्त भएर लाखौं जनताका तर्फबाट सत्यको आग्रह र प्रार्थना गर्दैछन्। तपाईं सत्ताको सर्वोच्च पदमा आरूढ़ हुनुहुन्छ, समर्थ हुनुहुन्छ, शस्त्र र साधनयुक्त हुनुहुन्छ। सत्ता र शक्तिको यो कवच नष्ट पारेर कुनै वैरीले तपाईंलाई हराउन सक्दैन, अहित गर्न सक्दैन।
फेरि डा केसी तपाईंका वैरी पनि होइनन्। तपाईंले नेतृत्व गरेको राज्य संरचनाका एक निशस्त्र र सामान्य जनता हुन्- सचेत, सत्यनिष्ठ तर निर्भिक जनता। तपाईंको पदको शक्ति र गरिमा डा केसी जस्ता सत्यनिष्ठ जनताको योगबल र सम्मतिले बनेको हो। प्रधानमन्त्रीज्यू! डा केसी जस्ता निस्वार्थ जनताको सत्य आग्रह र प्रार्थना स्वीकृत गर्दा प्रधानमन्त्रीको ओज र मर्यादा धूमिल हुँदैन बरू सत्यको आग्रह गर्ने जनता अपहेलित हुँदा प्रधानमन्त्रीको मर्यादासमेत धूमिल हुन्छ।
'तस्मादिदं गरं भुन्जे प्रजानां स्वस्तिरस्तु मे' अर्थात प्रजाकाे हित होस् भनेर म यो विष पिउँछु। प्रधानमन्त्रीज्यू! पौराणिक गाथामा समुद्र मन्थन गर्दा हठात् उत्पन्न विषका कारण सृष्टि र प्राणी जगत संकटमा पर्दा महादेवले उक्त विष पान गर्दै वैशालाक्ष नीतिको यस्तो करूणाजन्य उद्घोष र महान कर्म गर्नु भयो। देवी पार्वतीलाई यसो गर्नुको कारण बताउँदै महादेवले भन्नुभयो- 'जो समर्थ हुन्छ उसकाे सामर्थ्यको उद्देश्य नै संकटमा परेकालाई संकट मुक्त गर्नु हो।'
सम्माननीय प्रधानमन्त्रीज्यू!
डा केसीको २२औं दिनको सत्याग्रहपछि देश अहिले गंभीर नैतिक संकट र दुर्घटनातर्फ उन्मुख भएको छ। चिकित्सा शिक्षा विधेयकको विषयमा संसद र समग्र देश गम्भीर रूपमा विभाजित देखिएको छ। यद्दपि संसदको दुई तिहाइ बहुमतको सामर्थ्य तपाईंको पक्षमै छ।
वर्तमान संकट समाधान गर्न प्रधानमन्त्रीज्यूले अहिले पनि निर्णायक संसदीय अग्रसरता लिने बाटो बन्द भएको छैन। पहिलो विकल्प- प्रधानमन्त्रीले चाहेमा राष्ट्रीयसभामा यो विधेयक परिमार्जन हुन सक्छ। दोश्रो विकल्प- प्रमज्यूले चाहेमा यो विधेयकलाई संसद नियमावली र परम्पराअनुसार जनताको प्रतिक्रिया र सुझाव लिन पठाउन सकिन्छ।
सामर्थ्यवान प्रमज्यूको उदारता, संकट समाधान गर्ने तत्परता र लोकतन्त्रको यस्तो उच्चतम अभ्यासले वर्तमान संकटको समाधान निस्कन सक्छ। म आशा गर्छु प्रधानमन्त्रीज्यूले सकारात्मक अग्रसरता लिनु हुनेछ।
सादर जय नेपालसहित!
महेश आचार्य
पूर्व मन्त्री एवम् केन्द्रीय सदस्य
नेपाली कांग्रेस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।