जनकपुर- प्रदेश–२ को सरकारले ‘गौरवको चार प्रादेशिक महत्वका योजना’ सार्वजनिक गरेको छ।
आज जनकपुरमा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पत्रकार सम्मेलन गरी सरकारको महत्वका योजना सार्वजनिक गरेका हुन्।
प्रदेशका ८ जिल्लालाई जोड्ने गरी प्रादेशिक सडक निर्माण गर्ने योजनालाई मुख्य प्राथमिकतामा राखिएको छ। यस अन्तर्गत प्रत्येक जिल्लामा २५ देखि ३५ किलोमिटरका दरले प्रदेशभरि करिब २ सय ५० किलोमिटर दुई लेनको सडक निर्माण गर्ने योजना रहेको छ।
प्रादेशिक सडकले यस क्षेत्रका जनताको जीवनस्तर उकास्नुका साथै, आर्थिक र व्यापारिक उन्नती गर्ने लक्ष्य सरकारले लिएको छ।
त्यसैगरी दोस्रो प्राथमिकतामा प्रदेशमा कृषि उत्पादन बढाउन र रोजगार सिर्जना गर्ने उद्देश्यले हरेक खेत मे पानी, हर हातको काम’ योजनालाई राखिएको छ। प्रदेशमा अधिकांश किसानले सिँचाइको सुविधा नपाउँदा आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यतालाई हटाउने उद्देश्यले यस योजना अन्तर्गत ८ जिल्लामा डिप ट्यूवेल जडान, बाँध, बैरेज र नहरको निर्माण गरी पानीको स्रोतलाई तत्काल व्यवस्थापन गर्ने कार्यक्रम सरकारको छ।
सरकारको तेस्रो योजनामा 'जनता आवास कार्यक्रम’ रहेको छ।
प्रदेश सरकारले यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा डोम, हलखोर, मुसहर र मेस्तर जातका लागि घर निर्माण गर्ने भएको छ। यी जातिको घरविहीनताको अवस्था समाप्त भएपछि क्रमशः सम्पूर्ण दलित एवं विपन्न समुदायका लागि यस कार्यक्रमलाई अगाडि बढाइने सरकारको योजना छ।
चौथो योजना ५० मेगावाट सौर्य ऊर्जा उत्पादन हो। प्रदेशको विकासका लागि ऊर्जा नभई नहुने भएकोले ऊर्जा उत्पादन एवं विस्तार गर्ने उद्देश्यका साथ यो योजना ल्याएको हो।
प्रदेशको गौरवको योजनाका चार योजनालाई अगाडि बढाइने बताउँदै मन्त्री सोनलले भने, ‘यी योजनाहरुको काम समेत अघि बढाइसकेका छौं। योजनालाई साकार रुप दिन विभिन्न दातृ निकाय र संघसंस्थासँग समन्वयको काम सरकारले अघि बढाइसकेको छ।’
प्रादेशिक सडक निर्माणका लागि प्रदेश सरकारले प्रारम्भीक योजना तयार गर्न आठै जिल्लामा मातहतका कार्यालयलाई पत्राचार गर्न निर्देशन दिइसकेको मन्त्री सोनलले जानकारी दिए।
प्रदेश सरकारले आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने परिपाटीलाई सुदृढ बनाउनका लागि अहिलेसम्म भएका कामको बजेट जेठसम्ममा मात्र भुक्तानी गर्ने निर्णय समेत गरेको छ।
मन्त्री सोनलले असार १ गतेदेखि कुनै पनि विकास निर्माणको कामको बजेट भुक्तानी नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।