काठमाडौं– मेलम्ची खानेपानी आयोजना निर्माणमा रहेको इटालियन कम्पनी सिएमसी सँगको ठेक्का सरकार आफैले तोडेपछि अब कसरी निर्माण अघि बढ्छ भन्ने चौतर्फी चासो र चिन्ता सुरु भएको छ।
यही चिन्ताकै बीच सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउने विषयमा तत्कालीन रुपमा दुई वटा विकल्प देखेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताए। नेपालकै कुनै कम्पनी वा काम गर्न सक्ने निकायलाई दिने कि ग्लोबल टेन्डर गर्ने भन्ने विकल्प रहेको उनले बताए।
मन्त्रालयले एक अधिकारीले भने नेपाली सेनालाई दिने विषयमा छलफल सुरु भएको नेपाल लाइभलाई बताएका छन्।
पारदर्शी र सबैभन्दा उत्तम विकल्प ग्लोबल टेन्डरबाट नयाँ कम्पनी छनोट गर्ने भए पनि समय अभावका कारण नेपाली सेनाको विषयमा छलफल सुरु भएको ती अधिकारीको भनाइ छ।
सिएमसीले काम छाडेर हिँडेपछि सरकारले ठेक्का तोड्ने घोषणा गरिसकेको छ। ठेक्का तोकेको कानुनी प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएकाले यस विषयमा ठोस निर्णय भने बाँकी रहेको ती अधिकारीले बताए।
नयाँ ठेकेदार छनोट गरेर काम अघि बढाउनुअर्को जोखिम हुने भएकाले नेपाली सेनाबाटै काम सम्पन्न गराउने छलफल सुरु मन्त्रालयले गरेको हो। तर, यसमा दातृ निकाय सहमत नहुने जोखिम भने रहेको ती अधिकारीले बताए।
सेनालाई दिने विषयमा आयोजनासम्बद्ध नेपाली अधिकारीहरु भने सकारात्मक रहेको र दातृ निकाय एसियाली विकास बैंक (एडिबी) लाई मनाउन प्रयास भने मन्त्रालयले गर्ने तयारी गरेको छ। दातृ निकायले सरकारकै अर्को त्यो पनि सुरक्षा निकाय भित्र्याउँदा समस्या आउने पक्षमा छ।
एडिबी सार्वजनिक खरिद ऐनअनुसार नै नयाँ ठेक्का लगाएर काम अगाडि बढाउने पक्षमा छ।
दातृ निकायको माग अनुसार ग्लोबल टेन्डर गर्दा समय लाग्ने र अयाोजना पछि धकेलिने भएकाले सिएमसीको धरौटीबाट सेनालाई काम लगाउने पक्षमा सरकार रहेको छ। तर यसबारे हालसम्म कुनै निर्णय भने भएको छैन।
मेलम्ची खानेपानी आयोजनामा अहिले सुरुङको अन्तिम स्वरुप दिनेदेखि सुन्दरीजलमा ड्याम बनाउने तथा पानी वितरणको प्रणाली बसाल्ने प्राविधिक काम गर्न बाँकी छ। यो कार्यका लागि करिब २ अर्बभन्दा बढी खर्च हुने देखिन्छ।
अर्बको बजेट भएकाले यसलाई आन्तरिक बजाराबट बिनाप्रतिस्पर्धा गर्न सहज भने देखिँदैन।
टाइमलाइनमा मेलम्ची

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।