जनकपुर- धनुषा र रौतहटबाट काठ चोरी निकासी गर्दै गरेको अवस्थामा ट्रयाक्टर र जीपलाई नियन्त्रणमा लिइएकाे छ।
धनुषाको विदेह नगरपालिकबाट काँचो काठ पक्राउ गरिएको हाे। वातावरण तथा सार्वजनिक सम्पत्ति संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले नगर प्रमुखको नेतृत्वमा निस्केको सुरक्षाकर्मी समेतको टोलीले मंगलबार विदेह नगरपालिका-९ स्थित बैदेहीमा काँचो काठ पक्राउ गरेको हो।
वैदेही रेल्वे स्टेसन नजिक बिमला नदी छेउमा रहेका रुख काटेर ट्याक्टरमा लोड गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।
अनुमति बेगर काँचो रुख काट्न प्रतिबन्ध गरिएकाे भए पनि नदी छेउको रुख स्थानीय सगिरा खातुनले काट्न लगाएको ट्याक्टर चालक धर्मेन्द्र यादवले बताए। नगर प्रमुख बेचन दास, वडाध्यक्ष जुमराती नदाफ, शसस्त्र प्रहरी बल नेपाल (बिओपी) धनौजी का इन्स्पेक्टर सागर राई, प्रहरी चौकी बैदेहिका असै बिसम्बर साह लगायतकाे टोलीले काठ पक्राउ गरेको हो।
पक्राउ गरेको काठ नगरपालिकाको मातहतमा राखिएको नगर प्रमुख दासले बताए। बिमला खोलाको छेउमा करिब ९ किलोमिटर क्षेत्रमा सार्वजनिक रुपमा जामुन, बाँस, निमलगायतका रुख राेपिएकाे छ। जसको अन्दाजी मुल्य करिब १ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।
त्यसैगरी, डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले गएराति पौराई जंगलको राजमार्ग छेउबाट सालको काँचो गोलियासहित बोलेरो जिप नियन्त्रणमा लिएको छ।
पूर्व–पश्चिम राजमार्गको पौराईस्थित लच्का नजिकै सहायक वन अधिकृत महेन्द्र प्रसाद जयसवाल नेतृत्वको वनगस्ती टोलीले काठ लोड गरिएको जिप बरामद गरेको हो।
गस्ती टोलीलाई देखेपछि तस्करहरु अर्को जिपमा भागेको अधिकृत जयसवालले बताए। टोलीले एक राउन्ड गोली चलाएर ७ थान गोलिया काठ लोड भएको जीप नियन्त्रणमा लिएको बताइएको छ।
कार्यालयले करिब तीन महिनायता एक हजार ५ सय क्युफिट भन्दा बढी काठ बरामद गरिसकेको छ। वनभित्र नै काँचो रुख काटेर चिरान गरिरहेको अवस्थामा समेत तस्करहरु फेला परेका थिए।
रौतहटमा पछिल्ला दिनहरुमा जिप, ट्याक्टर, मोटरसाइकल, साइकलमा राखेर सालका गोलियाहरु तस्करी हुने गरेको पाइएपछि वन कार्यालयले सुरक्षा निकायसँग समन्वय गरेर वन गस्ती गर्ने कार्यलाई तीब्रता दिएकाे छ।
काठ तस्करी बढी हुने क्षेत्रको नाकामा गस्ती बढाइएको रौतहटका वन अधिकृत विनोद सिंहले जानकारी दिए। रातको समयमा काठ चोरी बढी हुने भएकाले तस्करहरु फेला परेमा गोली समेत हानेर नियन्त्रणमा लिन आदेश दिएको सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।