डडेलधुरा– डडेलधुरालगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा गएराति देखि हिमपात सुरु भएको छ।
सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपात भएसँगै चिसोसमेत बढेको छ। चिसाे बढेसँगै आवतजावत तथा घरबाहिर निस्किनसमेत अप्ठेराे परेकाे छ। सुदुरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका उच्च पहाडी भेगमा कम्तिमा २ फिटसम्म हिउँ जमेकाे बताइएकाे छ।
गएरातिबाट पानी परेसँगै हिमपात सुरु भएको हो। डडेलधुरा सदरमुकाममा भने आज बिहान ५ बजेदेखि हिमपात सुरु भए पनि उच्च पहाडी क्षेत्रमा भने गएरातिबाटै हिउँ पर्न सुरु भएकाे। भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा समेत कठिनाइ भएकाे छ।
हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या भएकाे स्थानीयले बताएका छन्। एक्कासी बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।
लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत पुर्याएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।