राजविराज– सप्तकोसीको नदी किनारमै खानपिन गरी रमाइलो गरेर हरेक वर्ष मनाइने कोसी मेला (पुसे पूर्णिमा) यस वर्ष पनि सोमबार सप्तरीका विभिन्न स्थानमा मनाइएको छ।
मेला भर्ना विशेषगरी भारदहस्थित कोसी ब्यारेज, सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुर लगायतका स्थानमा सर्वसाधारणको भिड लागेको थियो।
कोसी ब्यारेजमा बिहानैदेखि कोसी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लागेको थियो। ओद्राहा तथा कोसी ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, भारतको पूर्णिया, लौकही, मधुवनी लगायत जिल्लाबाट सर्वसाधारण आएका थिए।

सवारीसाधन सहज रुपमा पुग्न सक्ने ब्यारेजबाहेक चारपांग्रे गाडीको असहजता भएका स्थानमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोसी स्नानका लागि आउनेहरुको दिनभरि घुइँचो लागेको थियो।

कृषि मेलाको रुपमा समेत चिनिने यस मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्री अत्यधिक हुने गरेको छ। पुस महिनाको शुक्ल पूर्णिमाका दिन कोसी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरेसरह हुने जनविश्वास रहेको छ। यस दिन बिहानै कोसी नदीमा नुहाएर मिठोचाखो खाने चलन छ। मेलामा भुजा, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाई खाने प्रचलन छ।

कोसी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोसीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय बूढापाकाहरु बताउँछन्। उनीहरुका अनुसार यो मेला परापूर्वकालमा एक महिनासम्म लाग्ने गरेको थियो। मंसिर महिनामा खेतमा रहेको धान भित्र्याइसकेपछि एक महिनासम्म लाग्ने मेला समय र परिस्थितिसँगै घटेर एक दिनमा सीमित भएको जानकारको भनाइ छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।