भैरहवा– रुपन्देहीको रामनगर सामुदायिक वनबाट काठ तस्करी गर्ने ४ जना पक्राउ परेका छन्। वनबाट काठका गोलिया रिक्सामा लोड गरेर लैजान लागेको अवस्थामा नेपाली सेनाका एक अमलदारसहित ४ जनालाई आइतबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ।
पक्राउ पर्नेहरुमा नेपाली सेनामा कार्यरत ३१ वर्षीय अमलदार हिमाल नेपाली, बुटवल उमनपा–७ का ४८ वर्षीय भिम बहादुर गुरुङ, पाल्पा तिनाउ गापा–१ का २४ वर्षीय राम बहादुर अर्गाली मगर, सोही गापा–४ का २६ वर्षीय पदम थापा रहेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ।
‘वनमा रुख फडानी गरेर २ वटा गोलिया रिक्सामा हालेर लैजान थालेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरेका हौँ’, वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हेम केसीले भने। उनले पक्राउ परेका ४ जनामध्ये काठसहित तीन जनालाई जिल्ला वन कार्यालय पठाइएको र सेनाका अमलदारलाई जबरजंग गण रामनगर ब्यारेक बुटवललाई बुझाइएको बताए।
पक्राउ परेका हिमाल नेपाली सेनाका कर्मचारी रहेको जबरजंग गण रामनगर ब्यारेक बुटवलका कर्नेल अच्युत विक्रम शाहले पुष्टि गरे। उनले भने, ‘पक्राउ परेका एक जना सेनाकै हुन्, तर कहाँ कार्यरत छन् त्यो भने खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।