काठमाडौं– गएको शनिबार बाँकेको कोहलपुरस्थित बसपार्क नजिकै एक युवकको घाँटी रेटी हत्या भएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
एक जनालाई गत मंगलबार पक्राउ गरेको हो भने अर्का एक जनालाई आज (बुधबार) पक्राउ गरिएको स्रोतले जानकारी दियो।
पक्राउ गरिएको पुष्टि गरे पनि बाँकेका एसपी अरुण पौडलले अहिले अनुसन्धानकै चरणमा रहेकाले थप केही भन्न नमिल्ने बताए। ‘हामी अहिले अनुसन्धानकै चरणमा छौं। अहिले नै केही बोल्न मिल्दैन। पुष्टि भएपछि हत्यारा सार्वजनिक गर्छौं,’ उनले भने।
स्रोतका अनुसार प्रहरीले बुधबार बर्दियाको कोठियाघाटबाट हत्याको भिडियो खिच्ने एक युवकलाई पक्राउ गरेको हो। उनले हत्याको भिडियो आफ्नो मोबाइलमा कैद गरेको बताइएको छ।
सुर्खेतबाट मंगलबार पक्राउ परेका युवकको सूचनाको आधारमा प्रहरीले आज अर्का युवकलाई पक्राउ गरेको हो।
गत शनिबार बिहान सुर्खेतको सिम्ता गाउँपालिका–४ का २१ वर्षीय दीपकसिंह ठकुरीको घाटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। उनी प्रहरीमा भर्ना हुन आएको बताइएको छ।
मृतकका आफन्तका अनुसार, ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए। ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई एक लाख ५० हजार बुझाएका थिए। सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी शनिबार बिहान मृतावस्थामा फेला परेका हुन्।
प्रहरीले घटनास्थल नजिकैबाट एक जोर जुत्ता र लठ्ठीसमेत बरामद गरेको थियो। घटनाको अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीले कुकुरमार्फत अनुसन्धान अगाडि बढाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।