काठमाडौं– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई दुई दिनदेखि भेट्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले समय दिएका छैनन्।
कांग्रेसका पूर्व प्रधानमन्त्रीका नाममा खोलिएका अस्पताल वर्तमान सरकारले बन्द गर्न लागेकोप्रति ध्यानाकर्षण गराउन पौडेल सहितका कांग्रेस नेताहरुले प्रधानमन्त्रीलाई भेट्न खोजिरहेका छन्।
कांग्रेसका दुई प्रधानमन्त्रीका नाममा रहेका अस्पताल बन्द गर्न लागेकोप्रति चिन्ता व्यक्त गर्न पौडेलले सोमबार प्रधानमन्त्रीलाई भेट्न खोजेका थिए। हिजो समय नमिलेको भन्दै भेट नदिएका प्रधानमन्त्रीले मंगलबार पनि भेटलाई समय उपलब्ध गराएनन्।
दुई दिनपछि मात्रै भेटको समय मिल्ने प्रधानमन्त्री सचिवालयले जानकारी गराएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी गराए।
गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा बेलचौतारा तनहुँ र बाँकेमा सञ्चालित अस्पताल बन्द गर्न लागेको कांग्रेसले जनाएको छ।
कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले 'कम्युनिस्ट नेताका नाममा रहेका अस्पताल कांग्रेस सरकारले बन्द गरिदिए के हुन्छ?' भन्दै सरकारलाई प्रश्न गरे। सरकारले गलत तरिका अबलम्वन गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।