काठमाडौं- विवेकशील साझा पार्टीले अर्को वर्ष पार्टीको पहिलो महाधिवेशन गर्ने भएको छ। पार्टी विभाजन भएपछि फुटबारे समीक्षा गर्न बसेको बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार पार्टी मुख्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। महाधिवेशन अर्को २०७६ फागुन १५ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुनेछ।
पुस ३० र माघ १ गते बसेको केन्द्रीय समिति बैठकले पार्टी फुटबारे संक्षिप्त र प्रारम्भिक समीक्षा गरेको पार्टी प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘पार्टीमा देखापरेका पछिल्ला चुनौतीहरु र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौंमा देशभरिका पार्टी प्रतिनिधि सदस्यहरु सहित 'विवेकशील साझा राष्ट्रिय सन्देश भेला'को आयोजना गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै माघ १३ गते राष्ट्रिय सभागृहमा ‘विवेकशील साझा’ अबको बाटो’ शीर्षकमा सार्वजनिक कार्यक्रमको आयोजना गरिनेछ।’
नियुक्ति र जिम्मेवारीमा हेरफेर
त्यस्तै बैठकले केही नियुक्ति र जिम्मेवारी बाँडफाट समेत गरेको छ।
प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरिएको छ। त्यस्तै सातै प्रदेशबाट प्रदेशको सिफारिसमा एक/एक जना महिला केन्द्रीय समितिमा चयन गर्न लिएको यसअघिको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ।
बैठकले विभिन्न विभागहरुको पुनर्गठन र जिम्मेवारीको बाँडफाँटसमेत गरेको छ।
कोष संकलनमा डा उमेद पुन, संगठनमा मुमाराम खनाल, अभियानमा किशोर थापा, नीति तथा कार्यक्रममा डा सूर्यराज आचार्य, प्रशिक्षणमा केशव दाहाल, सञ्चारमा किरणकृष्ण श्रेष्ठ, सामाजिक न्याय तथा समावेशितामा प्रकाशचन्द्र परियार, कानुनमा निरूपमा यादव, उद्यमशीलतामा रमेश महर्जन, तथ्यांकमा राम साह र विदेशमा रवीन्द्र मिश्रलाई जिम्मेवारी दिइएको छ।
केन्द्रीय कार्यालयको जिम्मेवारी भने मानवी पौडेलले पाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।