दाङ– नेपालको विभिन्न भागमा छरिएर रहेका आदिवासीको रुपमा परिचित थारु जातिको मुख्य पर्व माघी सुुरु भएको छ।
थारु समुदायमै पनि पश्चिम नेपालका दाङ बाँके, बर्दिया, कैलाली र कन्चनपुर तथा नवलपरासी, चितवनलगायत देशका विभिन्न स्थानमा ठाँउ अनुसार फरक–फरक ढंगले यो पर्व मनाउने गरिन्छ। विशेषगरी माघ १ गते मनाइने माघी पर्व एक साता अघिदेखि तयारी सुरु गर्दै एक साता पछिसम्म यसको रौनक कायम रहन्छ।
पुस मसान्तको रात महिलाहरु जागराम बस्ने र धुमरु गीत गाउने गर्दछन् भने माघे संक्रान्तिका दिन मघौटा नाच नाच्ने गरिन्छ।
माघे संक्रान्तिका दिन बिहानै पुरुषहरु नजिकैको खोला, नदी वा तालमा स्नानका लागि जान्छन् भने महिलाहरु चालमको पिठोबाट बनाइने विशेष परिकार ‘ढिक्री’ र अन्य परिकारहरु तयार पार्छन्।

उज्यालो भएपछि सबै जनाले आफ्ना मान्यजनबाट टिका र आशिर्वाद थाप्नुका साथै मिठो–मिठो परिकार खाने र खुवाउने प्रचलन छ।
वर्षभरी कामका लागि घरबाहिर गएकाहरु पनि माघी कै लागि घर फर्कन्छन् भने माघीमा वर्षभरी गाँउ–ठाँउमा गरिने नयाँ कामका लागि समूहगत रुपमा छलफल गरी नीतिनियम समेत बनाउने प्रचलन रहेको थारु अगुवा रामप्रसाद चौधरीले जानकारी दिए।
संक्रान्तिको दोश्रो दिन माघीमा बनाइएका विभिन्न परिकारहरु आफ्ना चेलीवेटीको घरमा पुर्याउने गरिन्छ। त्यसका साथै माघीका गीत गाँउदै र नाच्दै रमाइलो गर्ने गरिन्छ। एक हप्तासम्म मनाइने यो पर्वलाई थारुहरुले नयाँ वर्षको रुपमा समेत मनाउने गर्दछन्।
थारु बाहुल्य रहेको प्रदेश ५ सरकारले यस वर्ष माघीमा २ दिन सार्वजनिक बिदा दिएपछि थारु समुदायमा खुसीयाली छाएको छ। यस्तै माघीकै अवसरमा अन्य ४ प्रदेशले समेत सार्वजनिक बिदाको घोषणा गरेका छन्।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।