काठमाडौं– माघे संक्रान्ति आउन अब एक दिन मात्रै बाँकी छ। शिशिर यामको मध्यसमयमा पर्ने यस दिनले विभिन्न समुदाय र जातिहरुका लागि भिन्दाभिन्दै महत्व बोकेको पाइन्छ। थारु समुदायले माघीको रुपमा मनाउने यस दिनलाई नयाँ वर्ष मानी शुभकामना आदानप्रदान गर्ने गर्दछन्। मगर, नेवार तथा ब्राह्मण समुदायका लागि पनि यस दिनको गरिमा उच्च छ।
सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र यस दिनबाट दिन लम्बिँदै तथा रात छोट्टिँदै जाने भन्दै ब्राह्मण समुदायले 'मकर संक्रान्ति'को रुपमा मनाउने चलन रहिआएको छ। सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यस दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

यस दिन विभिन्न नदी, तलाउ तथा खोलाहरुमा गई स्थान गर्ने तथा मठमन्दिरमा पूजाअर्चनासमेत गर्ने चलन छ। भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यसदिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने उल्लेख छ।
सस्तियाे तरुल
माघे संक्रान्तिकै अवसरमा यो साता काठमाडौंमा तरुल, चाकु आदिको व्यापार बढेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष तरुलको मूल्य सस्तिएको व्यवसायीहरु बताउँछन्।
माग भन्दा बढी तरुल बजारमा भित्रिएपछि यसवर्ष गत वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो। माघ संक्रान्तिलाई तरुल, घिउ र चाकुको पर्वको रुपमा पनि लिने गरिन्छ।
यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछि मूल्यमा कमी हुन गएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए। गत वर्ष समितिले ६ सय टन तरुल माघे संक्रान्तिका लागि भित्र्याएकोमा यस वर्ष साढे ९ सय टन भित्र्याएको छ।

स्टक रहने डरले पनि धेरै भित्रिएकाले यस वर्ष तरुल सस्तोमा बिक्री गर्नु परेको पनि उपनिर्देशक श्रेष्ठले बताए।
सबैभन्दा महँगाे सिमल तरुल
बजारमा यो वर्ष सिमल तरुल सबैभन्दा बढी प्रतिकेजी ३ रुपैयाँमा बिक्री भएको छ। त्यसैगरी तरुल प्रतिकेजी ५० रुपैयाँ, हात्तीपाइले तरुल बढीमा १ सय २० रुपैयाँमा बिक्री भइरहेको छ। गत वर्ष सिमल तरुल प्रतिकेजी ३ सय ५० रुपैयाँ भन्दा बढीमा बिक्री भएको विकास समितिका उपनिर्देशक श्रेष्ठले बताए।
बजारमा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल पनि भित्रिएको छ।
यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तरुल सर्लाही जिल्लाबाट भित्रिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार यस वर्ष माघे संक्रान्तिलाई लक्षित गरेर पिँडालु १ सय ३० टन, सख्खरखण्ड १ सय ५० टन भित्रिएको छ। सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट यस वर्ष तरुल काठमाडौं भित्र्याइएको हो।

हरेक वर्ष पुस महिनामा सबैभन्दा बढी तरुल बिक्री हुने गर्दछ। माघे संक्रान्तिलाई तरुलको संक्रान्तिको रुपमा लिने भएकाले यस समयमा तरुलको बिक्री अन्य समयमा भन्दा अत्याधिक हुने गरेको हो। माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यवसायिक खेती पनि सुरु गरिएको छ।
माघ संक्रान्तिमा तरुल खाएपछि चिसो आफैँ हटेर जाने जनविश्वास पनि रहिआएको छ।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।