काठमाडौं- सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गरेकी छन्।
सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले शिष्टाचार भेट गरिन्।
भेटमा चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गरिन्।
‘नेपाल र चीनबीच कूटनीतिक र राजनीतिक सम्बन्ध प्रगाढ त छँदैछ,' सभामुख महराले भने, 'दुई देशका जनताबीचको सम्बन्ध पनि निकै घनिष्ट रहेको छ, जसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र बलियो बनाएको छ ।’
चीनले नेपालको जलविद्युत, पर्यटन, सडक लगायतका थुप्रै क्षेत्रमा सहयोग गरिरहेको बताउँदै सभामुख महराले आगामी दिनहरुमा पनि चीनको सहयोग विस्तार हुनेमा विश्वास व्यक्त गरे। चीनले सुरु गरेको बेल्ट एन्ड रोड परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने भन्दै सभामुख महराले उक्त परियोजनामा नेपालका तर्फबाट आफू अर्थमन्त्री हुँदा सहमतिमा हस्ताक्षर गरेको स्मरण गरे।
चीनको सहयोगले नेपाल–चीन रेल सेवा चाँडै सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै सभामुख महराले केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग चाँडै बन्नेमा आशावादी रहेको बताए।
सभामुखसँगको भेटमा राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त नजिकको रहेको बताइन्। उनले आफ्नो कार्यकालमा चीन–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन साथै नेपालको विकास र समृद्धिका लागि आफू लागिपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।