काठमाडौं– ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका कलाकार वर्षा राउत र सन्जोग कोइरालाले विवाह गर्ने भएका छन्। उनीहरुले यसै फेब्रुअरी १४ अर्थात् प्रणय दिवसका दिन लगनगाँठो कस्न लागेका हुन्।
सोमबार आफ्नो आधिकारिक फेसबुकमा एक कार्ड पोष्ट गर्दै उनीहरुले विवाहको मिति सार्वजनिक गरेका हुन्। सार्वजनिक पोष्टमा लेखिएको छ, ‘हामीलाई अत्यन्त खुसी महसुस भइरहेको छ, किनकि हामी जीवन कालसम्मको यात्रा सुरुवात गर्न गइरहेका छौं।'
विगत लामो समयदेखि सञ्चारमाध्यमहरुमा प्रेमको चर्चा चल्ने गरे पनि यो जोडी विवाहको प्रसंगमा भने मौन रहने गरेको थियो। तर उनीहरुले उक्त प्रश्नहरुको जवाफ सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन्।
फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट ठूलो पर्दामा डेब्यू गरेकी वर्षा पछिल्लो समय निकै व्यस्त अभिनेत्रीका रुपमा परिचित छिन्। उनको अभिनयमा रहेको फिल्म ‘गोपी’ आउँदो माघ १८ गते रिलिज हुँदैछ भने गत शुक्रबारबाट फिल्म ‘चौका दाउ’ प्रदर्शनरत छ।
यस्तै उनी0 फिल्म ‘दाल भात तरकारी’ मार्फत पनि केही समयपछि पर्दामा आउने तयारीमा छिन्। त्यसैगरी अभिनेता सन्जोग कोइराला पनि नेपाली फिल्म क्षेत्रमा निकै परिचत नाम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।