दाङ– नेपालका विभिन्न भागमा छरिएर रहेका आदिवासीको रुपमा परिचित थारु समुदायको महान पर्व माघीको चहलपहल सुुरु भइसकेको छ। स्थानअनुसार रीतिरिवाजमा केही फरकपन देखिएपनि देशभरका थारुका लागि माघीको उमंगमा भने फरकपन देखिँदैन।
माघी पर्व माघ १ गते मनाइन्छ। तर, यसको रौनक तथा तयारी भने एक साताअघि देखि नै सुरु हुन्छ। प्रदेश ५ का दाङ, बाँके, बर्दियाका साथै सुदरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर लगायतका पश्चिम नेपालका विभिन्न जिल्लामा यतिबेला माघीको तयारी चलिरहेको छ।
माघीको रौनक माघ १ देखि करिब १ सातासम्म रहन्छ। माघीलाई धुमधामका साथ मनाउन यस क्षेत्रका थारु समुदाय तयारीमा जुटेका हुन्। माघीलाई लक्षित गर्दै दाङका विभिन्न स्थानमा माघी महोत्सव पनि आयोजना गरिएको छ।
यस्ता किसिमका महोत्सवले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परा जान्ने अवसर मिल्ने तथा संस्कृति हस्तान्तरणमा सहज हुने ७८ वर्षीय थारु अगुवा चन्द्रप्रसाद चौधरीको विश्वास छ।
पछिल्लो समयमा थारु जातिको भेषभुषा, रहनसहन र परम्परामा आएको परिवर्तनबाट स्वयम् थारुहरु नै चिन्तित देखिएका छन्। यस किसिमको महोत्सवले भेषभुषा संरक्षण र प्रचारप्रसारको लागि सहयोगी हुने थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको भनाइ छ।
महोत्सवमा ५ नम्बर प्रदेशका १२ जिल्लासहित दाङका विभिन्न स्थानका थारु संस्कृति झल्किने नृत्य, परिकार तथा भेषभुषा प्रस्तुत गरिएको छ।
नयाँ लुगा लगाउने, मिठो खाने मात्र नभई थारुहरुले माघीलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरेका छन्। यस वर्ष ५ नम्बर प्रदेश सरकारले माघीको अवसरमा २ दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि थारु समुदाय खुसी भएका छन्।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।