इटहरी- गत मङ्सिर ५ गते हत्या गरिएका फिदा हुसेन हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी दुहबीका मोहम्मद सकिम हुसेन, सोही स्थानका मोहम्मद जाविर हुसेन र विश्वम्बर यादव रहेका छन्।
बाकी एक जना जफल मिया बाँके जिल्लामा रहेकोले उनलाई पनि सुनसरी झिकाइ सकिएको प्रहरीको जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेका तीनैजनालाई सार्वजनिक गरेको हो।
३६ जनाको प्रहरी टोलिले ५१ दिन लगाएर गरेको अनुसन्धानका आधारमा उनीहरु पक्राउ गरेको प्रहरीको दाबी छ।
सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार अनुसन्धानको क्रममा सिमावर्ती सुरक्षा निकाय संगको सहकार्यमा काम गरिएको थियो।
पक्राउ परेका मध्ये दुई जना मुस्लिम युवाहरू सामान्य मजदुर गर्दै आएको र यादव स्थानीय राधाकृष्ण मन्दिर पुजारी रहेको उनको भनाइ छ। पुजारीले मन्दिर नजिकै हत्यामा प्रयोग भएको पेस्तोल लुकाएर राखेको र त्यसैका आधारमा अरु अभियुक्त पक्राउ गरिएको प्रहरीले बताएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार व्यक्तिगत रिसइभी र आर्थिक प्रलोभनमा परी हत्या गरिएको हुन सक्ने प्रहरीको भनाइ छ।
पक्राउ परेका तिनैजनालाई जिल्ला अदालत सुनसरीबाट चार दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रमुख अधिकारीले बताए।
पत्रकार सम्मेलनमा आफैं मात्र बोलेका प्रमुख अधिकारीले थप बिषय खुलाउन नमिल्ने जवाफ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।