काठमाडौं– सरकारले भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको संग्राहलय स्थापना गर्ने तयारी गरेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृति हुने गरी अन्तर्राष्ट्रिय स्तरको भूकम्पसम्बन्धी संग्राहलय बनाउने तयारी गरिएको जानकारी गराएको हो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो संग्राहलय पुनर्निर्माणको चरणमा रहेको विश्व सम्पदा धरहरा परिसरमै स्थापना गर्न लागिएको पनि स्पष्ट पारे।
प्राधिकरणले गोरखा र सिन्धुपाल्चोकमा भूकम्प स्मृति पार्क स्थापनाको कामलाई अघि बढाएको पनि जनाएको छ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि सबै स्थानीय तहमा जोखिम विपद् नक्सांकन कार्य अघि बढाइएको पनि बताए।
उनले २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता गरे। प्राधिकरणले हालसम्म १ खरव ६८ अरब रुपैयाँ पुनर्निर्माणमा खर्च गएको पनि समितिलाई जानकारी गराएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले हालसम्म सम्झौता भएको रकम २ खरब ६२ अरब रहेकोमा पुनर्निर्माणमा १ खरव ६८ अरब खर्च भएको बताए।
उनले पुनर्निर्माणको कामलाई छिटो, छरितो बनाउने गरी स्थानीय तहलाई त्यसको जिम्मेवारी दिने व्यवस्था गरिएको पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।