काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पोखरामा श्रम तथा रोजगार कार्यालयको बिहीबार उद्घाटन गरेका छन्।
उक्त कार्यालयले बिहीबारदेखि नै वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ।
कार्यालयको उद्घाटन गदै श्रम मन्त्री विष्टले सरकारले आगामी पाँच वर्षभित्र देशभित्रै रोजगारीमार्फत युवालाई आत्मानिर्भर बनाउन लक्ष्य लिएको बताएका छन्।
मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगारका अवसर सिर्जना गर्ने र बेरोगारीको अन्त्य गर्ने समेत बताए।
सरकारले आगामी पाँच वषभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य गदै देशभित्र व्यवस्थित रोजगारीका अवसर निर्माण गर्ने प्रतिवद्धतासमेत जनाए।
नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिवद्ध भएर कार्य गरिरहेको मन्त्री विष्टले दाबी गरे।
श्रम स्वीकृति कार्यालयबाट नै वैदेशिक रोजगारमा जानेलाई श्रम स्वीकृति प्रदान गरिने उद्देश्यका साथ यो कार्यालयको स्थापना भएको हो।
कार्यालय स्थापना गरेको अवसरमा मन्त्री विष्टले वैदेशिक रोजागारमा मकाउ जाने नवलपरासीका खड्गबहादुर गुरुङ र युएई जाने चन्द्रबहादुर गुरुङलाई श्रम स्वीकृति जारी गरेका थिए।
सरकारले अब वैदेशिक रोजगारका सम्पूर्ण सेवा पोखराबाट सञ्चालन गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।