काठमाडौं– जापानी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय प्रेस महाशाखाका निर्देशक नात्सुको साकाताले जापानी विदेशमन्त्री तारो कोनोको हालको भ्रमणले जापान–नेपाल सम्बन्धमा नयाँ आयाम थपिएको प्रतिक्रिया दिएका छन्।
जापानी विदेशमन्त्रीको भ्रमण दलमा रहेकी साकाताले बुधबारसाँझ नेपाली सञ्चारमाध्यमसँगको कुराकानीमा भनिन्, ‘यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको छ र यसले आगामी दिनमा उच्चस्तरीय भ्रमणको आदानप्रदानका साथै जनताबीचका सम्बन्ध विस्तारमा पनि थप प्रगतिको ढोका खोलेको छ।’
लामो समयदेखि दुई देशका उच्च राजनीतिक तहमा भ्रमण आदानप्रदान र भेटवार्ता हुन नसकेकामा आगामी दिनमा त्यसले निरन्तरता पाउने र दुई देशबीच बुधबार सम्पन्न भएको हवाई सम्झौताले नेपाल र जापानबीच भ्रमण र आदानप्रदानमा टेवा पुग्ने उनको धारणा थियो।
जापान नेपालको हितैषी मित्रराष्ट्र र एक प्रमुख दाता राष्ट्रका रुपमा विगत लामो समयदेखि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा विविध क्षेत्रमा सहयोग पुर्याउँदै आएको उनले स्मरण गरिन्।
समृद्ध नेपाल देख्ने जापानको चाहना हो भन्दै यसका लागि जापानले नेपाललाई विगतदेखिको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले बताइन्। उनले जापानले हालै मात्र आफ्नो देशको श्रम कानुनमा परिवर्तन गरी नेपाललाई पनि जापानलाई आवश्यक पर्ने मानव स्रोत लैजाने देशको सूचीमा राखेको जानकारी दिँदै यसबाट नेपालका दक्ष जनशक्तिले जापानको श्रम बजारमा काम पाउने धारणा राखिन्।
साकाताका अनुसार यसरी लाने जनशक्तिको छनोटको संरचना भने जापानका विभिन्न मन्त्रालय र त्यससँग सम्बन्धित विभाग वा क्षेत्रले तोक्ने बताइन्। आगामी अप्रिल महिनादेखि त्यसको प्रक्रिया सुरु हुने र यसका लागि नेपालसहित ९ देशका मानवस्रोत जापान लैजाने उनले जानकारी दिइन्।
विभिन्न १४ क्षेत्रमा कार्यरत नेपाली दक्ष जनशक्तिलाई जापानले आफ्ना श्रम शक्तिको सूचीमा राखेको साकाताले बताइन्। ती क्षेत्रमध्ये निर्माण क्षेत्र, उद्योग र कलकारखानाका कामदार, कृषि, माछापालन, अटोमोबाइल, होटल ट्राभल्सलगायतका सेवा क्षेत्र, निर्माण सामग्री, खाद्यान्न उत्पादनलगायतका रहेका छन्। यी जनशक्तिलाई जापान लैजाने विषयमा आवश्यकस्वरुप, छनोटका आधार छिट्टै नै तय गरिने उनले जानकारी दिइन्।
छनोटका प्रमुख दुई आधारमा पहिलो सम्बन्धित क्षेत्रमा ती जनशक्तिले आर्जन गरेको दक्षता र अर्को जापानी भाषाको सीप रहने उनको भनाइ थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।