जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्षहरुले १६बुँदे माग अघि सार्दै मेयर लालकिशोर साहलाई आज ज्ञापनपत्र बुझाएका छन्।
मेयर साहको कामकारबाहीबाट असन्तुष्टि जनाउँदै बुधबार १६ जना वडाध्यक्षले उपमहानरपालिकाका प्रशासकीय अधिकृत उमेश ढुंगानामार्फत् मेयर साहलाई ज्ञापनपत्र बुझाएका हुन्।
मेयर साह राजपा नेपालबाट निर्वाचित छन् र ज्ञापनपत्र बुझाउने अधिकांश राजपाबाटै निर्वाचित वडाध्क्षहरू रहेका छन्।
यसरी ज्ञापनपत्र बुझाउने वडाअध्यक्षहरु मध्ये ९ जना राजपाबाट निर्वाचित भएका छन् भने एक स्वतन्त्र र ६ जना अन्य पार्टीबाट निर्वाचित छन्।
ज्ञापनपत्र बुझाउने वडाध्यक्षहरुमा वडा नम्बर १ का सत्रुधन साह, वडा नम्बर २ का शिव कुमार साह, वडा नम्बर ४ का सुदर्शन सिंह र वडा नम्बर ५ का मनोज कुमार साह छन्। यसैगरी, वडा नम्बर ६ का जगरणाथ साह, वडा नम्बर का ७ का जानकीराम साह, वडा नम्बर ८ का रमेश ठाकुर, वडा नम्बर ९ का प्रमेश्वर साह छन्।
त्यस्तै वडा नम्बर १० का मिथिलेस लाल कर्ण, वडा नम्बर ११ का राम चन्द्र साह, वडा नम्बर १२ का सत्रुधन यादव, वडा नम्बर १३ का सुभनरायन मण्डलले समेत मेयर साहलाई ज्ञापनपत्र बुझाएका छन्। वडा नम्बर १५ का अशोक कुमार चौधरी, वडा नम्बर १६ का रामअशिस पजियार, वडा नम्बर २० का भोगेन्द्र झा र वडा नम्बर २४ का सत्यनारायण साहले पनि रहेका छन्।
वडाध्यक्षहरुले राखेको १६ बुँदे मागमा बढाइएका कर फिर्ता गर्नुपर्ने, वड़ाको दैनिक कार्य र भैपरी आउने कार्यका लागि स्वायत्तता दिनुपर्ने, कार्यपालिका बैठकमा आफ्ना एजेन्डा राख्न र छलफल गर्न पाउने अधिकार प्रत्यायोजन गर्नेपर्ने लगायका माग छन्। संवैधानिक व्यवस्थाअनुसार अख्तियार विकेन्द्रीकरण नभएको हुनाले काम गर्न विभिन्न किसिमका कठिनाइ भोग्नुपरेको ज्ञापनपत्रमा भनिएको छ।
वडाको कार्यभारअनुसार कर्मचारी व्यवस्था गर्नुपर्ने, वार्षिक बजेटबारे सूचना पाउने अधिकार प्रत्याभुति गर्नुपर्ने, बजेट बाँडफाँड हुँदा कार्यपालिकाको सहभागिता र बहुमतबाट पारित हुनुपर्ने लगायका माग राखी ज्ञापनपत्र बुझाइएको वडाध्यक्षहरुले बताएका छन्।
ज्ञापनपत्रमा उल्लेखित माग पुस मसान्तभित्र सम्बोधन नभए माघदेखि चरणबद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।