जनकपुर– महोत्तरीका सञ्चारकर्मीमाथि नेपाली सेनाले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले आपत्ति जनाएको छ।
सञ्चारकर्मी निकेश खनाल र ललन मण्डलमाथि सेनाले दुर्व्यवहार गरेको भन्दै बुधबार महासंघले प्रेस विज्ञप्तिमार्फत दोषीलाई कारबाहीको माग गरेको छ।
गत शनिबार मध्यरातमा गिट्टी बालुवा उत्खनन् गरेर लैजाँदै गरेको अवस्थामा पत्रकार ललन मण्डल र निकेश खनाललाई नेपाली सेनाका मेजर पुष्कर बस्नेतले दुर्व्यवहार गरेका हुन्।
प्रदेशको पृत्तना क्षेत्रभित्र अवैध रुपमा नदी उत्खनन् गरी त्यहाँ भएका गिट्टी बालुवा बर्दिबास नगरपालिका वडा नं–१३ मा विजय साहले सञ्चालन गरेको चुरियामाई वासिङ सेन्टरमा लैजाने क्रममा पत्रकार मण्डल र खनाल त्यहाँ पुगेका थिए।
सेनाका मेजर बस्नेतले वासिङ सेन्टरका सञ्चालक साहसँग क्रसरसँगको सम्झौताअनुरुप काम गर्दा पत्रकारले अनावश्यक दुःख दिएको बताए।
सेनाको काम गरेबापत सेनाको पेरिमिटरबाट नदीजन्य पदार्थ उत्खनन् गर्न दिने सम्झौता बमोजिम आफूले काम गरेको बस्नेतको भनाइ छ।
यता पत्रकार खनाल र मण्डलले भने मेजरले आफूहरूलाई समाचार नछाप्न प्रलोभन देखाएको र नमानेपछि हातबाट मोबाइल र क्यामरा खाेसेर दुर्व्यवहार गर्दै धम्की दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।