काठमाडौं- नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ। सो अवसरमा एक लोगो समेत सार्वजनिक गरिएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानले उक्त लोगो सार्वजनिक गरेका हुन्।
यसअघि परराष्ट्र सचिव बैरागी र फ्रान्सका विदेश सचिव मोन्तान नेतृत्वको नेपाल फ्रान्स परामर्श संयन्त्रको बैठक बसेको थियो। बैठकमा अर्थ, उद्योग र वाणिज्य, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उच्च अधिकारीको समेत सहभागिता रहेको थियो।




परामर्श संयन्त्रको बैठकमा उर्जा, व्यापार, पर्यटन, शहरी विकास, सूचना तथा सञ्चार जलवायु परिवर्तन, संस्कृति लयातका विषयमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव बैरागीले जानकारी दिए।
यस्तै नेपाल र फ्रान्स दुबै देशले विश्वमा पछिल्लो समय देखिएका बहुपक्षीयता विरोधी गतिविधिलाई मिलेर सामना गर्ने र नियम संगत अन्तर्राष्ट्रिय कानूनका पक्षमा दुबै देश मिलेर अघि बढ्ने सहमति भएको जानकारी दिए।
कार्यक्रममा बोल्दै फ्रान्सेली विदेश सचिव मोन्तोले नेपाली सेनालाई फ्रान्समा सम्मान गरिने बताउँदै नेपालको सुरक्षा फौजले राष्ट्रसंघीय शान्ति मिसनमा पुर्याएको योगदानको फ्रान्सले उच्च कदर गरेको बताए। नेपाल र फ्रान्स दुवै देशले आफ्नो काला-संस्कृतिलाई उच्च सम्मान दिएको बताउँदै उनले त्यसमा दुबै देश मिलेर अघि जान सक्ने धारणा राखे।
सोही अवसरमा परराष्ट्र मन्त्रालय र नेपालस्थित फ्रान्सेली राजदूतावासले मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई सद्भावना दूत घोषणा गरेको छ।
तस्बिरः चन्द्रकला क्षेत्री/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।