जनकपुर- महोत्तरी सदरमुकाम जलेश्वरमा आगलागीबाट एक बस नष्ट भएको छ। जलेश्वर नगरपालिका ७ बखरीमा रोकिराखेको बसमा आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार काठमाडौंबाट यात्रु बोकी आएको ना ८ ख ३३१६ नंं को बसमा आगो लागेको हो। गन्तव्य स्थलमा सबै यात्रुलाई ओरालेर सडकछेउमा पार्किङ गरेको अवस्थामा बिहान साढे ८ बजे घटना भएको हो। त्यसबेला चालक र सहचालकले खाना खाइरहेका थिए।
एक्कासि धुवाँ आएपछि आगो सल्किएको बस चालक धिरेन्द्र सिंहले बताए। आगलागीपछि स्थानीयवासी तथा सशस्त्र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भएको थियो।
जलेश्वर नगरपालिकाको बारुण यन्त्र बिग्रिएको हुँदा आगो नियन्त्रणमा ढिलाइ हुँदा थप क्षति भएको हो। जलेश्वर नपामा दुई बारुणयन्त्र रहे पनि अहिले दुवै बिग्रिएको छ। महोत्तरीको बर्दिवास र गौशालामा एकएक बारुण यन्त्र रहे पनि दक्ष प्राविधिकको अभाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।