काठमाडौं- द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफूहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै राजधानीमा अनिश्चितकालीन धर्ना दिन सुरु गरेका छन्।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका सन्तानलाई निःशुल्क शिक्षा र परिवारका एक जना सदस्यलाई सरकारी नोकरी अनिवार्य उपलब्ध गराउनेलगायतका सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब दिन पीडित पक्षले बुधबारबाट काठमाडौंको माईतीघर मण्डलामा अनिश्चितकालीन धर्ना दिन सुरु गरेका हुन्।
सरकारले सहमति गरेको वर्षौं बित्दा पनि कार्यान्वयन गर्ने चासो नदिएपछि अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गर्नु परेको द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाकी सचिव तुलसीकुमारी बस्नेतले जानकारी दिइन्। अब पनि सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरे आफूहरु मर्न पनि पछि नपर्ने चेतावनी समेत दिइन्।
'द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफ्ना सन्ततिलाई निःशुल्क शिक्षा दिने, परिवारका एक जना सदस्यलाई सरकारी नोकरीको व्यवस्था गर्नेलगायतका सरकारसँग गरिएको सहमति कार्यान्वयन गर्न दवाव दिँदै आएका छन्। सरकारले सहमति कार्यान्वयन नगरे द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार मर्न पनि पछि पर्ने छैनन्,' सचिव बस्नेतले भनिन्।
यसैक्रममा उनीहरुले बुधबारबाट अनिश्चितकालीन धर्ना दिन सुरु गरेका हुन्। सचिव बस्नेतले आफूहरुको माग सम्बोधन नभएसम्म धर्नालगायतका विरोध कार्यक्रम जारी राख्ने चेतावनी दिइन्।
अनिश्चितकालीन धर्ना कार्यक्रममा सहभागी भएकाहरुले सरकारले द्वन्द्वकालमा सहिद भएका सुरक्षाकर्मीका परिवारलाई राहत दिन समेत विभेद गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
उनीहरुले आफूहरूको माग सुनुवाई नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।