काठमाडौं– संसदीय समितिले सशष्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुलाई तत्काल बढुवालगायतका सेवा, सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सशष्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुको बढुवालगायतका वृत्ति विकासको अवसर नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
सो बलको बढुवालगायतका वृत्ति विकास रोकिएको गुनासो आइरहेको थियो। सोही समस्या विधिसम्मत ढंगले तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिए। समितिले सशष्त्र प्रहरी बलको कामलाई प्रभावकारी बनाउने गरी नीति तय गर्न पनि सरकारलाई सचेत गराएको छ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले सशष्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको रोकिएको बढुवालगायतका वृत्ति विकासको अवसर प्रदान गर्न सशष्त्र प्रहरी ऐन संशोधन प्रक्रिया सुरु गरिएको समितिलाई जानकारी गराए। उनले सशष्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको बढुवालगायतका माग सम्बोधन गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।
ऐनका कारण केही समययता सो बलको बढुवा रोकिएको भएपनि अब फुकाउँदै लैजाने गृहमन्त्री थापाको योजना छ।
गृहमन्त्री थापाले सशष्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुलाई नेपाल प्रहरी र नेपाली सेनामा सरुवा गर्न मिल्ने/नमिल्ने विषयमा बहस सुरु भएको उल्लेख गर्दै त्यसलाई पनि छिट्टै निष्कर्षमा पुर्याउने प्रतिबद्धता पनि जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।