जनकपुरधाम- नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले सामाजिक विकृतिका कारण आपराधिक घटना बढेको बताएका छन्।
शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि नेपाल प्रहरीले सञ्चालन गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज जनकपुरमा आयोजना गरिएको गोष्ठीमा बोल्दै सुवेदीले सामाजिक विकृति बढाउन सामाजिक सञ्जालले नकारात्मक भूमिका खेल्दै आएको बताए।
प्रवक्ता सुवेदीले भने, ‘सामाजिक सञ्जालको अधिकतम प्रयोगले विकृति बढाएको छ। सामाजिक सञ्जालका साथै इन्टरनेट प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीबारे बालबालिकालाई जानकारी गराउनु पर्दछ।’
‘बलात्कारका घटनामा १५ वर्षमुनिका अधिकांश बालबालिका पीडित देखिएको उनले बताए। ‘पीडकहरु १६ देखि २५ वर्ष उमेर समूहका देखिएका छन्। यस्ता व्यक्ति बाहिरबाट आएका होइनन्। सामाजकै हुन्,’ उनले भने, 'समाजसँग मिलेर काम गर्न सके यस्ता घटना न्यूनीकरण गर्न सकिन्छ।'
प्रवक्ता सुवेदीले जिउ धनमात्र नभएर नागरिकको एकीकृत सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा ल्याएको बताए।
मुलुकको वर्तमान संरचनाअनुसार शान्ति सुरक्षाको जिम्मेवारी स्थानीय तहसम्म पुगेको भन्दै उनले समुदाय प्रहरी साझेदारी कार्यक्रम सफल पार्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने प्रष्ट पारे।
उनले कार्यक्रम कार्यान्वयन गर्न ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४७ स्थानीय तहले नेपाल प्रहरीसँग सम्झौता गरेको जानकारी दिए।
नेपाल प्रहरीकै सक्रियताका कारण ४/५ वर्ष अघिसम्म सक्रिय रहेका भूमिगत समूह, विभिन्न समूहको नाउँमा हुने गुण्डागर्दीजस्ता आपराधिक गतिविधिहरु करिब-करिब अन्त्य भइसकेको उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।