काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिकरण नगर्न सचेत गराएका छन्।
प्रधानमन्त्री ओलीले राजनीतिकरणकै कारण कतिपय संस्था धरासायी भएको उल्लेख गर्दैै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिक पीडित हुन नदिन पनि मातहतका निकायलाई कडा निर्देशन दिए।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्ने आवश्यक्तासमेत औंल्याए।
शिक्षण संस्थाहरूलाई जनताको साझा संस्थाको रुपमा विकास गर्न पनि त्यहाँको हरेक गतिविधि पारदर्शी हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सरुवा, बढुवालगायतको काममा पनि पारदर्शीताको आवश्यकता औंल्याए।
उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गालगायतका समस्या तत्काल समाधान गर्ने आश्वासन पनि दिए।
बैठकमा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले प्रतिष्ठानका लागि ५ सय विघा जग्गाको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।