काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विषयमा कुनै निर्णय नभएको बताएका छन्। मानव बेचविखनमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पालाई छानबिनका लागि फिर्ता बोलाइएको थियो।
मन्त्री ज्ञवालीले भने, ‘शेर्पाको विषयमा सरकारले कुनै निर्णय लिएको छैन, छानबिनको क्रममै छ।’
शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनी मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए। शेर्पामाथि सवारी चालक वाङ्छु शेर्पाले आफूलाई अष्ट्रेलिया लैजान राजदूत शेर्पाले रकम लिएको आरोप लगाएका थिए।
सवारी चालकले राजदूत शेर्पामाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्रले उनीमाथि स्पष्टीकरण सोधेको थियो। उनको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले समिति नै गठन गरी छानबिनका लागि काठमाडौं बोलाएको हो।
तर, शेर्पाले आफू विरुद्ध लगाइएको आरोप निराधार रहेको बताउँदै आएकी छिन्। चालकलाई कामबाट निकाला गरेपछि विवादमा पार्ने प्रयास गरिएको उनले दाबी गर्दै आएकी छिन्।
राजदूत शेर्पा तत्कालीन नेकपा (माओवादी केन्द्र)को कोटाबाट राजदूत नियुक्ति भएकी थिइन्।
राजनीतिक नियुक्ति पाएकी राजदूत शेर्पा आफ्नो राजनीतिक पहुँचको प्रयोग गर्दै परराष्ट्र मन्त्रालयलाई प्रभावमा पार्ने कोशिसमा रहेको आरोप लाग्ने गरेको छ। जसकारण परराष्ट्रले छानबिन प्रतिवेदन बुझाएको केही समय भइसकेपनि उनीविरुद्ध सरकार कुनै निर्णयमा पुग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।