काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली कामदार जापान लैजाने विषयमा जापान सरकारले गरेको निर्णयप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रक्रियालाई पारदर्शी र भरपर्दो बनाउनुपर्नेमा जोड दिए।
नेपालका लागि जापानका राजदूत एच इ मासामिची साइगो र मन्त्री विष्टबीचको भेटमा पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट नेपाली कामदार जापान लैजाने विषयमा छलफल भएको थियो।
जापान सरकार यस विषयमा सकारात्मक रहेको बताउँदै राजदूत साइगोले छलफलका लागि प्रविधिक टोली नेपाल आउने बताएका थिए।
पारदर्शी रुपमा कामदारको सीप, क्षमता र दक्षताको आधारमा छनोट हुनुपर्ने भन्दै मन्त्री विष्टले कामदार जापान जाँदा कुनै मध्यस्थता वा बिचौलियाबाट ठगी नहोस् भन्ने विषयमा आफू सजग रहेको पनि बताएका थिए।
भेटमा नेपाल र जापानबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।