काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी अपराध नियन्त्रणमा सफल रहेको बताएको छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ९६ प्रतिशत अपराध नियन्त्रण गर्न प्रहरी प्रशासनले सफलता हासिल गरेको बताएका हुन्।
केही घटना अपवादको रुपमा रहेको र त्यसलाई टुङ्गोमा पुर्याउन सरकार सक्रिय रहेको उनको भनाई थियो। ‘अपवादलाई आमका रुपमा प्रचार गर्ने र उल्लेख्य सफलतालाई ओझेल पारेर कृत्रिम परिस्थिति सिर्जना गर्ने अनुचित प्रयास देख्दा मलाई दुःख लागेको छ,’ प्रधानमन्त्री ओलीले भने।
अन्यायमा परेका वा आपराधिक घटनाका पीडित निर्मला वा अन्य छोरी-चेलीलाई न्याय दिन सरकार लागिपरेको पनि दाबी गरेका थिए। सडकमा पोखिने अमर्यादित एवं अराजक भीडले नदिने भन्दै प्रधानमन्त्री ओलीले सडकको भीडले कुनै औचित्य नराख्ने बताएका थिए।
त्यस्तै उनले सुशासन बहाली गर्न र भ्रष्टाचार अन्त्यको लागि कुनै कसर बाँकी नराखिने बताएका थिए।
‘म भ्रष्टाचार गर्दिन र अरु कसैलाई पनि त्यो छुट दिन्न। कुन-कुन विषयमा कस्ता-कस्ता न्यायिक आयोग बनाउनु पर्ने हो, ती सबै गर्न सरकार तयार छ’ प्रधानमन्त्री ओलीले भने।
विगत लामो समयदेखि नेपालमा भैरहेको सुनको तस्करी, त्यसमा जोडिएका आपराधिक मनोवृत्ति र संगठित अपराधको सञ्जाल ध्वस्त पार्ने काममा सफलता मिलेको उनको दाबी थियो।
'विशेष अनुसन्धानको माध्यमबाट सुन तस्करीमा मुछिएका ७५ जना अभियुक्तमध्ये ४६ जना पक्राउ परेको, ३१ जना फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको छ। ३६ जना अभियुक्तहरुको चल/अचल सम्पत्ति रोक्का गरिएको छ,' प्रधानमन्त्री ओलीले भने।
त्यस्तै भारतमा समातिएको ३३ किलो सुनका बारेमा भारतीय राजश्व अनुसन्धान ब्युरोको सहयोगमा अनुसन्धान भइरहेको समेत उनले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।