रामपुर (पाल्पा) - रामपुरमा प्रहरी र स्थानीयबीच झडप हुँदा तीन प्रहरी घाइते भएका छन्।
रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो। स्थानीयको ढुंगा हानाहान र प्रहरीको लाठी चार्जबाट तीन प्रहरी जवान र केही व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालय, रामपुरले जनाएको छ।
हत्यामा संलग्न कपिलवस्तु हथौसा–२ मैरी बस्ने २९ वर्षीय कृष्णकमल चौधरीलाई कडा कारबाहीको माग गर्दै विरोधमा उत्रेका स्थानीयले उनको मोटरसाइकल इलाका प्रहरी कार्यालय परिसरमा जलाइदिएका छन्।
नेपाली कांग्रेस रामपुर नगरपालिका साबिक २ नं वडाका पूर्व वडासचिव ओमबहादुर खाँणलाई शनिबार साँझ खाना खाएर घरको गल्लीमा बसेको बेला धारिलो हतियारले आक्रमण गरी घाइते बनाइएको थियो। उपचारका क्रममा रामपुर अस्पताल ल्याउने क्रममा शनिबार नै बाटोमा उनको मृत्यु भएको हो।
फरार चौधरीलाई आइताबार १० बजे रम्भा गाउँपालिका–१ हुँगी असेर्दीमा स्थानीयले फेला पारी प्रहरीलाई बुझाएका हुन्।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी निरीक्षक रमेशराज पण्डितसहितको टोलीले हत्या भएको घटनाको अनुसन्धान गरेको छ। हत्या भएको स्थान गंगी थापाको घरको गल्लीमा रगतको आहाल देखिएको छ। हत्याको आशंकामा घरबेटी गंगी थापा, उनकी बहिनी गुनकेशरी दर्लामी र हत्याका आरोपी कृष्णकमल चौधरीकी श्रीमतीलाई इलाका प्रहरी कार्यालयले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
घटनाबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख राजु शर्माले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।