काठमाडौं- डिल्लीबजार कारागारबाट प्रहरीको घेराभित्र आएका रेशम चौधरीले सांसद पदको सपथ लिएर पुन कारागार नै फर्किएका छन्।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सिंहदरबारस्थित सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा सपथ लिए। महराले सपथ खुवाए पनि उनी निलम्बित सांसद हुनेछन्।
सो क्रममा चौधरीले थारु भाषामा सपथ लिए। उनलाई संसद् सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसद्को लोगो लगाइदिए।

ढाकाको कोट, मफलर र ढाकाटोपीमै प्रफुल्ल मुद्रामा आएका उनी सुरुमा संघीय सचिवालय हुँदै सपथ स्थलमा प्रवेश गरे। पुरानो संसद भवनको क्यान्टिनको माथिल्लो भागमा सपथ कार्यक्रम राखिएको थियो।
उनी प्रवेश गर्दा राजपाका नेता-कार्यकर्ता थिए। केहीबेरमा उनकी श्रीमती र छोरा पनि प्रवेश गरे। छोरालाई काखमा लिएर चौधरीले सुमसुम्याए। सपथ सकिए पछि केहीबेर मिडियालाई प्रतिक्रिया दिए। नेता कार्यकर्ताले माला र खादा लगाइदिए।
र, ठूलो संख्यामा उपस्थित सुरक्षाकर्मीले पुन: उनलाई डिल्लीबजार कारागार लगे।

टीकापुर घटना गराएको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा दायर गरिएको थियो। उनी हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।
राजपाका उम्मेदवार चौधरी ३४ हजार ३ सय ४१ मत ल्याई विजयी भएका थिए।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनमा चौधरीले अगुवाइ गरेको आरोप लागेको थियो। उक्त घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।