काठमाडौं- लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले २ सय ३५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ। ब्यूरोबाट डिएसपीको कमान्डमा खटिएको टोलीले बिहीबार बिहान ३ बजे धादिङको गजुरीबाट उक्त परिणामको चरेस बरामद गरेको हो।
उक्त चरेस एचआर ३८ एस ९३७१ नम्बरको भारतीय ट्रकमा लोड गरी धादिङबाट चितवन हुँदै भारततर्फ लैजान लागिएको थियो। ट्रकमा चालक बस्ने ठाउँभन्दा माथिल्लो भागको सिलिङमा फल्स बटम बनाएर १२ वटा बोरामा २ सय ३३ वटा पोका बनाई चरेस तस्करी हुन लागेको सूचना पाएपछि प्रहरीले चरेस र दुई जनालाई नियन्त्रणमा लिइएको ब्यूरोका डिआइजी दिनेश अमात्यले जानकारी दिए।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश चितापुर घर भएका ३० वर्षीय ट्रक चालक सतेन्द्र सिंह बेघल र पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ का ५० वर्षीय लालमहम्मद गद्दी छन्।
गद्दीले लामो समयदेखि लागुऔषधको कारोबार गर्दै आएको प्रहरीले जानकारी दिएको छ। उनी लागुऔषध मुद्दामा ३ वर्ष ६ महिना भारतमा जेल बसेका थिए।
बरामद भएको चरेसको मूल्य ५० लाख बराबरको रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।