जनकपुर– जनकपुरमा विभिन्न चोरी घटनामा संलग्न एक गिरोह नै पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले चोरी गरेको सामानसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– ४ महावीरचोक बस्ने २२ वर्षीय अभिमन्यूकुमार साह, महोत्तरी औरही नगरपालिका–३ सोनामाई बस्ने १८ वर्षीय रमेशकुमार यादव र धनुषाको औरही गाउँपालिका–१ का २१ वर्षीय इलियाकत राइन रहेका छन्।
जेठदेखि मंसिर मसान्तसम्म जनकपुरलगायत जिल्लाका विभिन्न स्थानमा चोरीका घटनामा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
उनीहरुको साथबाट एक थान एलइडी, एक थान ल्यापटप, ६ थान मोबाइल, एक थान खुकुरी, विभिन्न गरगहना, ढोका र झ्यालमा लगाउने १० थान पर्दा, एक थान अक्सिजन ग्यास सिलिण्डर, लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषामा उनीहरूविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।