राजविराज– मोटरसाइकलमा एसएमजी बोकेर हिँडेका सिरहाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
सिराहाको धनगढी माई नगरपालिका ११, छपराडीका ४६ वर्षीय चतुरनारायण चौधरीलाई गोलबजार नगरपालिका ४ बाट पक्राउ गरिएको हो। उनको साथबाट एउटा एसएमजी, २ म्याग्जिन र ५ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले उनले प्रयोग गरेको स५प ३७४१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
हतियार बोकेर हिँडिरहेको जानकारीका आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी इकाइ कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो।
चौधरीमाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत अनुसन्धान भइइरहेको प्रहरीले जनाएको छ। उनले बोकेको झोलामा ‘स्वतन्त्र तराई निर्माण सेना, केन्द्रीय ब्युरो’ लेखिएको पर्चासमेत फेला परेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।